भारतीय दूतावासमा स्वतन्त्रता दिवसको उत्सव, देउवाले दिए मोदीलाई शुभकामना

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासमा भारतको ७६औं स्वतन्त्रता दिवसको उत्सव भव्य कार्यक्रम गरेर मनाइएको छ ।

सोमबार काठमाडौंको लैनचौरस्थित राजदूतावासभित्र काउन्सिलर प्रशन्न श्रीवास्तवले झण्डोत्तलन गरेर कार्यक्रमको उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ । उनले भारतकी राष्ट्रपति द्रोपदी मुर्मूले स्वतन्त्रता दिवसका अवसरमा देशको नाममा दिइएको सम्बोधन पढेर सुनाएका थिए ।

कार्यक्रममा राजदूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र निकटतम नातेदारहरूलाई नेपाली रुपियाँ २.६५ करोड प्रदान गरेर सम्मान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासले आजादी अमृत महोत्सव हाजिरीजवाफ प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरेको छ ।

स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत लगायतका प्रस्तुतीकरण गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री एवं समकक्षी नरेन्द्र मोदीसहित भारतीय जनतालाई शुभकामना दिएका छन् ।

सोमबार भारतले भव्यताका साथ स्वतन्त्रता दिवस मनाइरहेको छ ।

आगामी २५ वर्षमा भारतलाई विकसित देश बनाउने लक्ष्य मोदीले अघि सारेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत शुभकामना व्यक्त गर्दै भनेका छन्, ‘भारतको स्वतन्त्रता दिवसको शुभ अवसरमा नरेन्द्र मोदी र भारतीय जनतालाई हार्दिक शुभकामना ।’

‘भारतको निरन्तर प्रगति र समृद्धिको लागि मेरो शुभकामना छ’, देउवाले भनेका छन्, ‘आगामी दिनमा सहयोग र मित्रताको भावना झनै प्रगाढ हुनेछ ।’

परराष्ट्रमन्त्री डा.नारायण खड्काले पनि भारतको स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी एस.जयशंकरलाई शुभकामना सन्देश पठाएका छन् ।

Published : Monday, 2022 August 15, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया