तरुण दलद्वारा विद्यादेवी भण्डारीको राजीनामा माग, महाअभियोग लगाउन आग्रह

काठमाडौं । नेपाल तरुण दलले विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदबाट राजीनामा दिन चेतावनी दिएको छ ।

सोमबार तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गरेर नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बाहना बनाएर फिर्ता पठाएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रको गम्भीर र जनताको जीवनसँग जोडिएको विषयमा खेलवाड गर्ने, बेवास्ता गर्ने र सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादामा नरहने राष्ट्रपतिले नैतिकताको उच्च उदाहरण बनि राजीनामा दिनु उचित हुने अन्यथा महाअभियोगबाट पदच्यूत समेत गर्न सार्वभौम संसद र नेपाल सरकारसँग नेपाल तरुण दल केन्द्रीय समिति जोड्दार आग्रह गर्दछ ।’

‘राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राजनीतिक प्रतिशोध राखी नागरिकता विहीन नागरिकहरूलाई संविधानले दिएको सार्वभौम अधिकार समेत कुण्ठित हुने गरी उक्त विधेयक फिर्ता हुनुले नागरिकता प्राप्त गर्ने आशामा बसेका नेपाली नागरिकहरूफेरि अन्धकारको भुमरीमा धकेलिएका छन्’, गुरुङले भनेका छन् ।

‘संसदबाट पास भई प्रतिनिधि सभाका सभामुखले प्रमाणित गरी प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक विभिन्न अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणविना प्रतिनिधि सभामा फिर्ता पठाइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समितिको गम्भीर ध्यान आकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङले भने, ‘नागरिकता विहीन नेपाली जनतामाथिको यो अपमानको घोर निन्दा र भर्त्सना गर्दछ ।’

नागरिकता विधेयक फिर्ता पठाएकोमा एमालेबाहेकका दलहरूले विरोध गरेका छन् । एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी भण्डारीले एमालेकै उक्साहटमा विधेयक फिर्ता गरेको आरोप लागेको छ ।

एमालेले भण्डारीको बचाउ गरेको छ । अरु दलहरूले भण्डारीको आलोचना गरेका छन् ।

Published : Monday, 2022 August 15, 5:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया