ओलीजी चिन्ता नलिनुस् तपाईको उपचार कांग्रेसले गर्छ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको उपचार कांग्रेसले चन्दा उठाएरै भए पनि गर्ने बताएका छन् ।

आइतबार बेलुका ट्वीट गरेर नेता खतिवडाले ओलीको स्वास्थ्य सधैं राम्रो होसभन्दै उपचार गर्न पैसा नभए कांग्रेसले चन्दा उठाएर भए पनि उपचार गर्ने बताए ।

ओलीले आइतबार बिहान काठमाडौंमा आयोजित एउटा कार्यक्रममा आफूसँग उपचार गर्न पैसा नरहेको र सबै सम्पत्ति दान गरेको बताएका थिए । ओलीले सांसदको पैसाले आफ्नो खर्च चलाएको उल्लेख गरेका थिए ।

त्यसको जवाफमा कांग्रेस नेता खतिवडाले ओलीलाई उपचारप्रति चिन्ता नलिन आग्रह गर्दै उपचार गर्ने घोषणा गरेका हुन् ।

‘केपी ओलीलाई उपचार गर्न पैसा छैन रे ?’, खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘यति, ओम्नि, वाइडबडी, सेक्युरिटी प्रेसले के हुन्छ ?’

‘सरकारले उपचारको व्यावस्था गर्ला, नत्र कांग्रेसले चन्दा उठाएर उपचार गर्छ’, कांग्रेस नेता खतिवडाले भने, ‘तर वहाँको स्वस्थ्य सधैं राम्रो होस् ।’

झण्डै दुईतिहाईको कम्युनिस्ट सरकारको प्रधानमन्त्री रहेका बेला ओलीको पालामा कोरोना महामारीका बेला ओम्नी घोटाला काण्ड, यती समूहलाई राज्यको जमीन कौडीको भाउमा दिने, प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेर गोकुल बास्कोटाले मन्त्री गुमाएको, बालुवाटार जग्गा काण्डमा विष्णु पौडेलले जग्गा फिर्ता गरेको, झापाको गिरीबन्धुको चियाबगानको जग्गा काण्ड लगायत दर्जन बढी काण्ड भएका थिए ।

ती सबै काण्डमा ओलीको पनि संलग्नता रहेको आरोप विपक्षीहरूले लगाउँदै आएका छन् । अहिले आएर ओलीले आफ्नो उपचार गर्न पनि पैसा नरहेको बताएर सबैलाई चकित तुल्याएका छन् ।

Published : Sunday, 2022 August 14, 8:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया