देउवाद्वारा गृहमन्त्री र आईजीपीसँग परामर्श, ठगहरूलाई ठेगान लगाउन बन्यो कार्यदल

काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सह–सचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

देउवाले भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सह–सचिव डा.भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।

कार्यदलको सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानून उप–सचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् ।

कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ ।

कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तरनिकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्युनीकरण गर्न अबलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेश गर्ने लगायतका कार्यादेश दिइएको छ ।

Published : Friday, 2022 August 12, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया