नुवाकोट–१ मा वर्षाका कारण ठूलो क्षति, डा.महतद्वारा उद्धार र राहतका लागि आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गएराति परेको अविरल वर्षाको कारणले आएको बाढी र पहिरोबाट नुवाकोट जिल्लाको क्षेत्र नं १ का विभिन्न स्थानमा पुगेको क्षतिप्रति दुःख प्रकट गरेका छन् ।

उनले भनेका छन, ‘गएरातिको अविरल वर्षाले नुवाकोटको तादी खोलामा आएको बाढीबाट जिल्लाको क्षेत्र नं. १ को दुप्चेश्वर– ३ राउतबेसी, तादी– ४ सातबिसे र पञ्चकन्या– ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या– २ आप्र र तादी– ५ बाहुनबेसी जोड्ने पक्की पुल र पञ्चकन्या– १ को सिमारा फाट र लिखु– ३ सूर्यमती र वडा नं. १ ढिकुरे जोड्ने पक्की पुलहरूमा व्यापक क्षति पुगेको छ । म यस प्राकृतिक प्रकोपबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दछु ।’

कांग्रेस प्रवक्ता डा.महतले बाढी र पहिरोका कारण नुवाकोटका आधादर्जन बढी पक्की पुल र धानखेतीमा क्षति पुगेको र पशु चौपाया समेत बगाएको उल्लेख गर्दै शीघ्र उद्दारकार्यमा लाग्न सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

पूर्वमन्त्री डा.महतले भने, ‘जोखिमयुक्त क्षेत्रमा रहनुभएका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउनु हुन पनि अनुरोध गर्दछु ।’

उनले प्राकृतिक विपदको यस घडीमा मानवीय तथा भौतिक क्षति रोक्दै बस्ती संरक्षणमा लाग्न, यथाशीघ्र उद्वार र राहतकार्यमा सरिक हुन सम्बन्धित सबैमा अनुरोध गरेका छन् ।

तत्काल क्षतिको यथार्थ आंकलन गरी यथाशीघ्र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग उनले माग गरेका छन् ।
कांग्रेस प्रवक्ता डा.महतले नेपाल सरकारका विभिन्न निकायलाई बाढी पहिरोले पु¥याएको सडक, पुल, खानेपानी आयोजना, सिंचाई आयोजना लगायतका संरचनाहरूको अनुगमन, मूल्यांकन गरेर यथाशीध्र मर्मत, संभार र पुनःनिर्माण गरी जनजीवन सामान्य अवस्थामा ल्याउन विशेष ध्यान दिन समेत अनुरोध गरेका छन् ।

Published : Wednesday, 2022 August 10, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया