भालुबाङ स्वास्थ्य चौकी स्तरोन्नति गर्न राज्य मन्त्रीसँग माग, राप्ती र परिषदबीच सम्झौता

काठमाडौं । दाङको राप्ती गाउँपालिकाले भालुबाङको स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न माग गरेको छ ।

मंगलबार गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र वडाध्यक्ष एवम् सदस्यहरूको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री हीरा केसीसँग भेट गरेर स्वास्थ्यसम्बन्धी विभिन्न माग गरेको हो ।

अध्यक्ष विष्टले भालुबाङ स्वास्थ्य चौकी निकै महत्वपूर्ण रहेको बताए । उनले भने, ‘प्यूठान जाने र पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको हुनाले सडकमा हुन् दुर्घटना र घाइतेको उपचारमा ठूलो सहयोग हुन सक्छ ।’

राज्यमन्त्री केसीले भालुबाङको स्वास्थ्य चौकीको स्तरवृद्धिका विषयमा आफू सकारात्मक रहेको बताएका छन् ।

यसैबीच, राप्ती गाउँपालिकाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदसँग सम्झौता गरेको छ ।

गाउँपालिकाभित्रका विभिन्न खालका रोगहरूको अनुसन्धान र तथ्याङ्क बनाउनका लागि मंगलबार पालिकाका अध्यक्ष विष्ट र परिषदका कार्यकारी प्रमुख डा. डा.प्रदीप ज्ञवालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार पालिकाभित्र विभिन्न खालका रोगीहरूको संख्या, रोगको प्रकारलगायतमा अनुसन्धान हुनेछ । सोही प्रतिवेदनका आधारमा पालिकाले स्वास्थ्यमा भावी रणनीति बनाउनेछ ।

त्यसका लागि पालिकाले परिषदलाई कम्तीमा दुई वटा कोठा र केही बजेटको व्यवस्था गरिदिनुपर्नेछ । परिषदले जनशक्ति पठाउनेछ ।

हस्ताक्षर कार्यक्रममा परिषदका कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवाली, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नं. २ का वडाध्यक्ष पहलमान चौधरी, वडा नं. ३ का वडाध्यक्ष उमेश अधिकारी, वडा नं. ४ का वडाध्यक्ष वीरबहादुर चौधरी, वडा नं. ९ का वडाध्यक्ष रिमबहादुर सुनारी, वडा नं.४ का वडा सदस्य विष्णु पोखरेललगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी, अध्यक्ष विष्टको टोलीले राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमसँग पनि सम्वाद गरेर चुरे बचाउ अभियानमा सहभागी हुनेबारे कुराकानी भएको छ ।

Published : Wednesday, 2022 August 10, 9:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया