काठमाडौंको ‘ओम सुन्धारा गेष्ट’ हाउसमा काण्ड गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी भारतीय नागरिक ४७ वर्षीय सकील खानलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कालीमाटीमा ग्यारेज/वर्कशप संचालन गरी बस्ने भारतको मोतीहारी तुरकौलिया थाना रगुनाथपुर गाउँ घर भएका खानलाई मंगलबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

उच्च अदालत पाटनको २०७६ भदौ ८ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद ठहर भएपछि खान फरार रहेका थिए ।

उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो ।

खानले २०७३ फागुन ८ गते ३२ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराई लठ्ठ पारी ब्यापार ब्यवसाय संचालन गर्ने सामान किन्नका लागि भारत लैजान्छु भन्दै झुक्याई काठमाडौं नयाँबसपार्क जाने भनी ट्याक्सी चढाई काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित ओम सुन्धारा गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

Published : Tuesday, 2022 August 9, 5:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया