आईजीपी सिंहद्वारा पुलिस स्कुलको भवनहरू उद्‌घाटन

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र २ वटा पुरुष छात्रावास भवनको उद्घाटन गरेका छन् ।

सोमबार सिंहले उद्घाटन पश्चात नवनिर्मित भवनहरूको निरीक्षण गरेका छन् । उनले नवनिर्मित इकेडेमिक ब्लक परिसरमा वृक्षारोपण पनि गरेका छन् ।

सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुर्‍याए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगदसहित सम्मान गरेका छन् ।

आईजीपी सिंहले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरू सुरेन्द्र वाग्ले, कृष्णबहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्णराज अर्याल, शम्भुप्रसाद निरला, हरिहर तिमिल्सिना, राजकुमार नेपाल, निरबहादुर थापा र राजकुमार पोखरेललाई कदर पत्र प्रदान गरेका छन् ।

कार्यरत शिक्षकहरू हरिभक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ, शिवहरि थापालाई पनि कदरपत्र प्रदान गरिएको छ ।

सिंहले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरेका छन् ।

उक्त भवनहरू नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोग गरी कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

कूल ६३,८६३/७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरू २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन् ।

Published : Monday, 2022 August 8, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया