कांग्रेस प्रवक्ता डा.महतले कहाँबाट उम्मेदवारी दिन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले कांग्रेसले हरेक नेता कार्यकर्ताको योगदान, क्षमता, लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताए ।

डा.महतले नुवाकोटका जनताले आवश्यक ठानेमा आफू नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्नेसमेत बताएका छन् ।

‘छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ’, उनले भने, ‘नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ ।’

प्रवक्ता डा.महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीयकरण गरेको उल्लेख गरेका छन् । नुवाकोटमा कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजानुपर्ने उनको भनाइ छ ।

प्रवक्ता डा. महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा कांग्रेस रहेको बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर ४ गतेलाई घोषणा भएको अवस्थामा डा.महतले आफू गृहजिल्ला नुवाकोटबाट पनि उम्मेदवार बन्न सक्ने संकेत गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ५ पनि डा.महतका लागि यथावत छ । यद्यपि, डा.महतले नुवाकोट वा काठमाडौं– ५ कहाँबाट उम्मेदवार बन्ने औपाचारिक रुपमा केही भनेका छैनन् ।

नुवाकोटका नेता कार्यकर्ताले प्रवक्ता एवम् पूर्वमन्त्री डा.महतलाई गृहजिल्लाबाटै प्रतिनिधि सभामा उम्मेदवार बन्न आग्रह गर्दै आएका छन् ।

Published : Friday, 2022 August 5, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया