भारतले त्रिशूली माविको भवन बनाइदियो

काठमाडौं । नुवाकोट जिल्लाको विदुर नगरपालिकास्थित श्री त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन भएको छ ।

मंगलबार भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रमसिंह ठकुरीले भवनको उद्घाटन गरेका हुन् ।

भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ ।

कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा विद्यालयको भवनको निर्माण भएको छ ।

विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले विद्यालयको डिजाइन गरेका हुन् ।

विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ६० प्रतिशत छात्रा छन् ।

भारत सरकारको सहयोगमा भएको नयाँ संरचनाको निर्माणले विद्यार्थीलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्नेछ ।

Published : Tuesday, 2022 August 2, 10:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया