लुम्बिनीमा प्रेम आलेको गलत हर्कतवाला निर्णय खारेज

काठमाडौं । लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गादिने निर्णय खारेज गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषदका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने वैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।

गुरूयोजनाविपरीत क्याम्पेन ग्राउन्ड’मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको प्रेस नोटमा उल्लेख छ ।

तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेले आर्थिक प्रलोभनमा परेर लुम्बिनीभित्र रिसोर्ट सञ्चालन गर्न दिएको आरोपसहित उजुरी परेको थियो ।

परिषद बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस संचालन गर्ने निर्णय पनि गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा संचालन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी जाने पर्यटकहरूलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस संचालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।

विद्युतीय बस संचालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ ।

परिषदले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिनेछ ।

Published : Tuesday, 2022 August 2, 8:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया