आईजीपी सिंहद्वारा अस्पताको उद्घाटन

धनगढी । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले धनगढी उप–महानगरपालिका–३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको उद्घाटन गरेका छन् ।

सोमबार आईजीपी सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृक्षारोपण समेत गरेका छन् ।

सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्वपूर्ण योगदान दिने सबैलाई धन्यवाद दिएका छन् ।

अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल प्रहरीको जनमूखी कार्यलाई निरन्तरता दिएको आईजीपी सिंहले बताएका छन् ।

सिंहले अस्पतालले प्रदेशअन्तर्गत विभिन्न जिल्लाहरूमा प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितीको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको बताए ।

अस्पतालले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारीता ल्याउन मद्दत पुग्ने उनले बताएका छन् ।

अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन उनले निर्देशन दिएका छन् ।

सिंहले चिकित्सकीय क्षेत्रका आधुनिक प्रविधि र विकासलाई आत्मसात गर्दै अस्पतालको स्तरोन्नती र विकास संगठनको प्राथमिकतामा रहेको बताए ।

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले स्वागत मन्तव्य व्यक्त गरेकी छिन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्यले धन्यवाद ज्ञापन गरेका छन् ।

कार्यक्रममा धनगढी उप–महानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशी लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2022 August 2, 11:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया