चुनाव प्रभावित बनाउन केही तत्वहरू लागेका छन् : कांग्रेस सभापति बानियाँ

हेटौंडा । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन रोक्न चलखेल शुरु भएको आरोप लगाएका छन् ।

हेटौंडामा पत्रकारहरूसँग कुरा गर्दै बानियाँले संघीय व्यवस्था कमजोर बनाउन चलखेल भइसकेको बताए ।

‘मंसिरमा निर्वाचन प्रभावित बनाउन देश बाहिर र भित्रका षडयन्त्रकारी तत्वहरू देश लागिपरेका छन्’, उनले भनेका छन् ।

उनले शासन व्यवस्था असफल बनाउन लाग्नेहरूलाई सफल हुन नदिन पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समयमा नै हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचन आउँदो मंसिर पहिलो साता हुनुपर्ने सभापति बानियाँले बताएका छन् ।

विभिन्न आशंकाबीच स्थानीय तह निर्वाचन समयमा नै सम्पन्न भएको भन्दै उनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन पनि समयमा नै गर्नुपर्ने बताए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई समयमा निर्वाचन गरेर देशलाई स्थायित्व प्रदान गर्ने अवसर भएको भन्दै यो अवसरबाट नचुक्न आग्रह गरेका छन् ।

Published : Monday, 2022 August 1, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया