बालेनसहितका स्वतन्त्रलाई डा.महतले दिए असल सुझाव, मुलुकको विकास गर्ने कांग्रेसनै रहेको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा अहिले स्वतन्त्र बन्ने प्रवृत्ति मौलाइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा डा.महतले मुलुकको दीर्घकालीन विकासका लागि स्वतन्त्रप्रवृत्ति घातक सावित हुने चेतावनी दिए ।

उनले काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारको सफलतापछि देशभरि स्वतन्त्र बन्ने प्रवृत्ति मौलाएको बताए ।

काठमाडौंका मेयर बालेन्द्र शाहले पनि अहिले काम गर्न नसकेको कुरा जनताका सामु प्रमाणित हुन थालिसकेको डा.महतले बताएका छन् ।

‘तपाईँहरुले देखिरहनुभएको छ । बोल्न सजिलो हुन्छ, काम गर्न कति गाह्रो हुन्छ । मेरै जिल्लामा अहिले कत्रो समस्या भइरहेको छ’, उनले भने, ‘काठमाडौंको मेयरले एक महिनामै फोहोरको समस्या समाधान गरेर दुर्गन्धरहित बनाउँछु भनेर सम्झौता गर्नुभयो । अहिले सिसडोलको अवस्था बेहाल छ । त्यहाँ बसिसाध्य छैन ।’

उनले झुटा प्रचार गरेर स्वतन्त्रहरूले चुनाव जितेको बताएका छन् ।

‘एकछिन प्रचार गरेर, एकछिन विज्ञापन गरेर आउनेहरूबाट समस्याको समाधान निस्किँदैन’, डा.महतले भने, ‘बोलेर प्रचार गरेजस्तो काम गर्न सजिलो छैन ।’

कांग्रेसका प्रवक्ता डा.महतले भू–परिवेष्ठित मुलुक नेपालले अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्नका लागि पनि दलीय प्रणालीलाई बलियो पार्नुपर्ने बताएका छन् ।

कांग्रेसकै नेतृत्वमा मात्रै नेपालले छिमेकीसहित सबै मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्न सक्ने उनले बताएका छन् ।

डा.महतले यति हुँदाहुँदै पनि कांग्रेसका केही कमजोरी नै छैनन् भन्न नमिल्ने बताए । उनले कमजोरीलाई सुधारेर अघि बढ्नुपर्ने भनाइ छ ।

‘हामीमा केही कमजोरी नै छैनन् भन्ने होइन । तर, कमजोरी हुँदाहुँदै पनि देशलाई निकास दिएर विकासको पथमा हिँड्न कांग्रेसको विकल्प छैन’, उनले भने, ‘कांग्रेस अब सुधारिएर अघि बढ्दै जनताको समस्या समाधान गर्न लागिपर्छ ।’

उनले राष्ट्रको समृद्धि र स्वतन्त्रतालाई बलियो पार्न नेपाली कांग्रेसको हैसियत बलियो हुनुपर्ने भएकोले आगामी निर्वाचनमा बढी भन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले पार्टीका भ्रातृ संस्थाहरूलाई चलायमान बनाउनुपर्ने बताए ।

निर्वाचन नजिक आइसकेकोले अब सबै पार्टी पंक्तिले कांग्रेसलाई विजयी बनाउन लाग्नुपर्ने उनले बताए ।

केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको विकासका लागि लोकतन्त्रलाई बलियो पार्न आवश्यक रहेको बताए । उनले त्यसका लागि लागि प्रेस युनियनको भूमिका निकै महत्वपूर्ण रहने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वडले मुलुकका लागि कुनै योगदान नगरेकाहरू अहिले स्वतन्त्रका नामबाट सलबलाउन थालेकोले उनीहरूलाई निस्तेज पार्न जरुरी रहेको बताएका छन् ।

Published : Saturday, 2022 July 30, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया