इन्जाद्वारा नगदसहितको पुरस्कारहरू प्रदान, मन्त्रीद्वारा प्रशंसा

काठमाडौं । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल (इन्जा)ले पत्रकारहरूलाई पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित वार्षिकोत्सव ‘इन्जा डे’को अवसरमा इन्जा खोजी पत्रकारिता पत्रकारिता पुरस्कार, इन्जा ग्रामीण पत्रकारिता पुरस्कार, इन्जा बौद्धिक पत्रकारिता पुरस्कार वितरण गरिएको हो । अग्रज पत्रकारलाई सम्मान पनि गरिएको छ ।

एक लाख राशीसहितको इन्जा खोजी पत्रकारिता पुरस्कार पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरिएको छ । ५०–५० हजार राशीसहितको इन्जा ग्रामीण पत्रकारिता पुस्कार दीपाकुमारी कर्ण र रेडियो मेलम्चीलाई प्रदान गरिएको छ ।

५०–५० हजारसहितको इन्जा बौद्धिक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कपिल काफ्ले र त्रिबी पत्रकारिता बिभागका उप–प्रध्यापक देवराज अर्याललाई प्रदान गरिएको छ ।

वरिष्ठ पत्रकार हरि लम्साल, अग्रज पत्रकार गोपालचन्द्र शर्मा, संचारिका समूहकी निवर्तमान अध्यक्ष नीतु पण्डितलाई सम्मान गरिएको छ ।

इन्जाका केन्द्रिय उपाध्यक्ष एवं एशियाका अध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा भएको विशेष समारोहका प्रमुख अतिथि संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । मन्त्री कार्कीले पुरस्कार वितरण एवं सम्मान गरेका छन् ।

मन्त्री कार्कीले विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरूको हकहित र श्रीबृद्धिका लागि इन्जा जसरी लागेको छ त्यसले नेपाल सरकार प्रभावित भएको बताएका छन् ।

इन्जामा सक्रिय र अग्रज पत्रकारहरू रहेका छन् । इन्जाले नेपाली पत्रकारहरूलाई पुरस्कृत र सम्मान मात्र होइन कोभिडका समयमा होस वा अन्य जटिल रोग लागेका पत्रकारलाई ठूलो राहत प्रदान गरेको भन्दै मन्त्री कार्कीले प्रशंसा गरेका छन् ।

उनले आगामी दिनमा नेपाली पत्रकारहरूका लागि इन्जाले थप सहयोग हुने कार्यक्रम ल्याउने विश्वास व्यक्त गरेका छन् ।

तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील इन्जा एशियाका अध्यक्ष वरिष्ठ पत्रकार पन्तसहितका सक्रिय पत्रकारहरू इन्जामा हुनु आफैमा गौरवको कुरा रहेको मन्त्री कार्कीले बताएका छन् ।

कार्कीले विश्वभरि छरिएर रहेका नेपाली पत्रकारहरूलाई मर्दापर्दा सहयोग गर्ने इन्जाको लक्ष्यलाई संस्थाले व्यवहारमा देखाएको बताएका छन् ।

इन्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटलले अमेरिकाबाटै भर्चुअलमाध्यमबाट सम्बोधन गरेका छन् । लुइँटेलले नेपाली पत्रकारहरूका लागि इन्जा सदैब क्रियाशील रहने प्रतिपद्धता व्यक्त गरेका छन् ।

नेपालमा भएको विशेष कार्यक्रमले आफूहरू उत्साहित भएको भन्दै लुइँटेलले सबैसंग सहकार्य गरेर इन्जा अगाडि बढ्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले नेपाली पत्रकारहरूका लागि विभिन्न समस्यामा साथ दिने गरेको इन्जाले पत्रकारहरूलाई जसरी पुरस्कृत र सम्मान गर्ने गरेको छ त्यो उदाहरणीय भएको बताएका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह र न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले धारणा राखेका थिए ।

उनीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरूको श्रीबृद्धि एवं विकास र पत्रकारहरूलाई निकै अफ्ठ्यारो परेको आर्थिक सहयोग समेत गर्ने संस्थाको रुपमा इन्जा सक्रिय भएको भन्दै थप सफलताको कामना गरेका छन् ।

इन्जा एशियाका अध्यक्ष पन्तले इन्जा केन्द्रबाट अध्यक्ष गुणराज लुइँटेल, उपाध्यक्ष किशोर सापकोटा, विष्णु शीतल, शिव विष्ट, वरिष्ठ पत्रकार एवं सल्लाहकार तीर्थ कोइराला, घमराज लुइँटेल, त्रिबी पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनाल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल लगायतका केन्द्रदेखि एशिया महादेशका साथीहरूको ठूलो सहभागिता र सहयोगले इन्जा अगाडि बढ्न सकेको जानकारी गराएका थिए ।

सचिव दीपक रिजालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन इन्जा एशियाका सचिव दीपु पोख्रेलले गरेकी थिइन् ।

Published : Saturday, 2022 July 30, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया