मोहन बस्नेतले बोल्दा कांग्रेसको बैठक कक्षमा सन्नाटा, दुईतिहाई नेताहरू खुशी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो जिल्लामा खेल्न खोज्ने कार्य बन्द गर्न चेतावनी दिएका छन् ।

मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा नेता बस्नेतले केही नेताहरूले अरु नेताहरूको जिल्लामा खेल्न खोज्ने कार्य उचित नभएको बताए । ‘आफ्नो जिल्ला बिग्रिएको छ । अर्काको जिल्लामा खेल्न खोज्ने ?’, उनले भने, ‘मेरो जिल्लामा खेल्न खोज्नुभयो भने ठीक हुनेछैन ।’

नेता बस्नेतले सो कुरा भनेपछि रमेशजंग रायमाझीसहितका अन्य नेताहरूले पनि समर्थन गरेका थिए । निर्वाचन र अधिवेशनका बेला सिन्धुपाल्चोक जिल्लामा केही स्वार्थी नेताहरूले खेल्ने प्रयास गरेको कुरालाई बस्नेतले केन्द्रीय कार्यसमितिमा चेतावनी शैलीमा राखेका हुन् ।

नेता बस्नेतले गठबन्धनको विरोध गर्ने नेताहरूको आलोचना गरेका छन् ।

‘खड्गप्रसाद ओलीको कार्यशैलीविरुद्धमा देशलाई जोगाउन, व्यवस्थालाई जोगाउन, लोकतन्त्र जोगाउन गठबन्धन आवश्यक्ता थियो’, उनले भने, ‘संविधानलाई सहि बाटोमा ल्याउन गठबन्धन बनेको हो । उद्देश्यमा पूरा भएका छौं ।’

‘कांग्रेसभित्र गठबन्धनको विरोध गर्नेहरू मुख्यमन्त्रीलाई सोध्यो भने पनि विरोध गर्छ । राजदूत नियुक्त हुन पाएकाले पनि विरोध गर्छन् । संवैधानिक नियुक्ति पाएकाले पनि गठबन्धनको विरोध गर्छन् । यही गठबन्धनभित्र यी सबैले पाएका हुन्’, बस्नेतले भनेका छन् ।

‘गठबन्धन निरंकुशता, भ्रष्टाचारीतन्त्रलाई रोक्दै संविधानलाई लिकमा ल्याउन आवश्यक्ताअनुसार बनेको हो’, उनले भनेका छन्, ‘यो गठबन्धन कुन ठाउँमा गर्ने, कुन ठाउँमा नगर्ने भन्ने कुरा स्थानीय निकायलाई केन्द्रले अधिकार दिएकै हो ।’

उनले भने, ‘त्यसलाई प्रयोग गर्दा कतिपय ठाउँमा गठबन्धन भयो । कतिपय ठाउँमा भएन । कम्युनिस्टले रुकुम, रोल्पा जस्तो ठाउँमा गठबन्धन गर्न मानेनन् ।’

‘त्यहाँ हामी चुप लागेर बस्नुपर्ने । जहाँ कांग्रेस बलियो छ त्यहाँ गठबन्धन किन गर्ने ? गठबन्धन आवश्यक्ताका आधारमा गर्ने कुरा हो’, बस्नेतले भने, ‘भोलिका दिनमा कांग्रेसले एक्लै चुनाव लड्नुपर्दा पनि जित्ने कहाँ कहाँ हो ? सबै हिसाब गर्नुपर्छ । जहाँ एक्लै जितिन्छ त्यहाँ किन गठबन्धन गर्नु प¥यो ? जहाँ जित्न सकिँदैन उनीहरूलाई पनि त्यही हो । हामीलाई पनि त्यही हो ।’

‘जित्न नसकिने ठाउँमा गठबन्धन गर्नुपर्ने हो । गठबन्धन गर्ने कुरा सबै ठाउँमा एकनासले लागू गर्नु हुँदैन । यसलाई प्रयोग गर्दै जानुपर्छ’, उनले भनेका छन् ।

‘गठबन्धनको बारेमा हाम्रा एकथरी नेताहरू विरोध गर्दैछन्’, उनले भने, ‘त्यही नेताहरू मुख्यमन्त्री बनाइदेउ भनेर सिफारिस गर्ने । त्यही नेताहरू मन्त्री बनाइदेउ भनेर सिफारिस गर्ने । त्यही नेताहरू राजदूत बनाइदेउ भनेर सिफारिस गर्ने । संवैधानिक नियुक्तिमा हाम्रो भाग चाहियो भनेर खोज्ने । गठबन्धन नगरेको भए यो कहाँबाट आउँथ्यो ? केपी ओलीले देशभरि कांग्रेससहितका दललाई पेलेपछि गठबन्धन बनेर सबैलाई राहत भएको छ । भोलिका दिनमा गठबन्धनलाई संगसंगै लैजानुपर्छ ।’

Published : Tuesday, 2022 July 12, 9:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया