कांग्रेसमा रामहरिले राखेका यी कुराले देउवासहित सबैको चित्त बुझ्यो, बैठकको लाईभ गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा कसरी असफल भए ? भनेर प्रश्न गरेका छन् ।

मंगलबार सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेता खतिवडाले एकैचरणमा स्थानीय तहको चुनाव गरेर कांग्रेसलाई ठूलो पार्टी बनाएर देउवा सफल भएको बताए ।

‘२०७४ सालको चुनावमा कांग्रेस हार्दा पनि गाली गर्ने । २०७९ सालको स्थानीय तहको चुनावमा कांग्रेसलाई ठूलो पार्टी बनाउँदा पनि गाली गर्ने’, खतिवडाले भने, ‘जित्दा पनि गाली गर्ने, हार्दा पनि गाली गर्ने । यो के भएको हो ?’

नेता खतिवडाले पार्टीभित्रको आन्तरिक विषयमा बाहिर मिडियाबाजी गरेर के गर्ने खोजेको हो भनेर शेखर कोइराला समूहप्रति लक्षित गरेर प्रश्न गरेका छन् । उनले पार्टीभित्रको कुरा पार्टीभित्रै राखेर आफ्ना असहमति प्रस्तुत गर्नुपर्ने बताएका छन् ।

‘बाहिर पार्टीको आलोचना गर्ने । भित्र बोल्दै नबोल्ने’, खतिवडाले भने, ‘पार्टीको बैठकलाई लाईभ गर्ने व्यवस्था गरौँ । बैठकमा नेताहरू बोल्छन् । आफू निकटका अनलाइनमा बोलर नसकिँदै समाचार आउँछ ।’

उनले भने, ‘बैठकमा बोल्न नसक्ने । बैठकमा राखेका धारणाभन्दा फरक कुराहरू मिडियामा पढ्न पाउँदा अचम्म लाग्छ । त्यही भएर बैठकको लाईभ नै गरौँ ।’

नेता खतिवडाले पार्टीभित्रको आन्तरिक विषयलाई सार्वजनिक रुपमा छताछुल्ल बनाउनुभन्दा पार्टीभित्र राखेर समाधान खोज्नुपर्ने सुझाव दिए ।

सभापति एवम् प्रधानमन्त्री देउवाका कारण कांग्रेस पहिलो पार्टी बनेको बताए । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले तहस नहस बनाएको मुलुकलाई देउवाले सहि बाटोमा ल्याएको खतिवडाले बताए ।

उनले भने, ‘कांग्रेस पहिलो पार्टी बनाउने शेरबहादुर देउवा असल भएन भन्नु उचित होइन । एमसीसी पास भयो । अर्थतन्त्र सुधार भएको छ । एकैचरणमा चुनाव भएको छ । अन्तर्राष्ट्रिय सुध्रिएको छ ।’

नेता खतिवडाले काम गर्ने क्रममा कमीकमजोरी र केही गलत भएको छभने सुधार गर्न सकिने बताएका छन् । उनले संवैधानिक परिषदको विधेयकमा कमजोरी भएको भन्दै त्यसलाई फिर्ता लिएर संविधानको मर्मअनसारको प्रस्ताव अगाडि बढाउनुपर्ने बताए ।

सभापति देउवालाई कमजोर बनाएर कांग्रेस बलियो नहुने नेता खतिवडाले बताएका छन् । उनले भने, ‘सभापति शेरबहादुर देउवालाई कमजोर बनाउन गालीगलौज गरेर कांग्रेस बलियो हुँदैन । फेसबुक र ट्वीटरमा हिरो बन्ने कुरा अन्त्य गरौँ । कांग्रेस आफै सुधार भएर जान्छ ।’

नेता खतिवडाले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउँदै गरेको भन्दै विवाद गरेर पार्टीलाई कमजोर बनाउने कार्य नगर्न आग्रह गरेका छन् ।

‘भित्र छलफल गरौँ । बाहिर पार्टीको कुरामा विवाद गरेर कांग्रेसलाई कमजोर बनाउने काम नगरौँ’, उनले भने, ‘आन्तरिक एकता मजबुद बनाउनुपर्छ ।’

नेता खतिवडाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनभन्दा अगाडि भ्रातृ संस्थाहरूको अधिवेन हुन नसक्ने बताए । ‘चुनाव केन्द्रित बनाएर भ्रातृ संस्था परिचालन गर्ने । उनीहरूको अधिवेशन चुनाव अगाडि हुँदैन’, खतिवडाले भने, ‘भ्रातृ संस्थाहरू गठन गरेर गाउँमा पठाऔँ ।’

नेता खतिवडाले गठबन्धनभित्र कसले कति टिकट पाउने भनेर त्यसको संख्या साउनभित्र टुङ्ग्याउनुपर्ने बताएका छन् । उनले निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताए ।

टिकटको संख्या मिलाएर जानुपर्ने बताएका खतिवडाले त्यसपछि पार्टीले टिकट वितरण गर्ने व्यक्तिको कुरा पछि गर्नुपर्ने बताए ।

Published : Tuesday, 2022 July 12, 7:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया