अध्यक्ष बस्नेतद्वारा टेम्केमैयुङका जनतालाई तल्लो अरुण आयोजनासँग क्षतिपूर्ति माग, पठाए पत्र

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले अरुण नदीको ६७९ मेगावाट तल्लो जलविद्युत आयोजनाबाट प्रभावित पालिकाले पाउने सुविधा उपलब्ध गराउन माग गरेको छ ।

असार २४ गते गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भोजपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर ट्याम्केमैयुङ गाउँपालिकाका प्रभावित जनतालाई मुआब्जा, क्षतिपूर्ति, शेयर लगायतका सुविधा दिन माग गरेका हुन् । उनले अन्य प्रभावित पालिकाहरूलाई दिइएको सुविधा आफ्नो पालिकाका पीडित जनताले पनि पाउनुपर्ने माग गरेका छन् ।

परियोजनाले प्रभावित क्षेत्रअन्तर्गत टेम्केमैयुङ गाउँपालिकाका प्रत्येक घरधुरीलाई न्यूनतम २ हजार शेयर कित्ता दिनुपर्ने माग अध्यक्ष बस्नेतले गरेका छन् ।

ट्रान्समिसन टावर रहने ठाउँको उक्त परियोजनाले हाल १ देखि डेढ रोपनी रहेकोमा न्यूनतम ७ रोपनी प्रभावित क्षेत्र कायम गरी घर तथा जग्गाको उचित मुआब्जा उपलब्ध गराउनुपर्ने माग पालिकाले गरेको छ ।

ट्रान्समिसन लाइनमुनि पर्ने घर तथा चौडा जग्गा प्रभावित ४६ मिटर तोकिएकोमा ८० मिटरसम्म प्रभावित क्षेत्र कायम गरेर क्षतिपूर्ति दिनुपर्ने माग छ ।

अन्य गाउँपालिका र नगरपालिकाभन्दा टेम्केमैयुङ गाउँपालिकाले उचित मुआब्जा दाबी गर्नुपर्ने कारण पनि अध्यक्ष बस्नेतले अगाडि सारेका छन् ।

अध्यक्ष बस्नेतले पत्रमा भनेका छन्, ‘नेपालका सय गन्तव्यअन्तर्गत यस पालिकामा अवस्थित मुन्धुम पदमार्ग सार्थ अन्य पर्यटकीय क्षेत्रहरूलाई समेत प्रत्यक्ष प्रभावित पारेको छ ।’

‘उक्त ट्रान्समिसन लाईनले पालिकाको केन्द्र हुँदै खेतीयोग्य उर्वर भूमि र मध्य पहाडी राजमार्ग आसपासका जग्गाहरू प्रभावि हुने भएको छ’, पत्रमा उल्लेख छ ।

६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना सतलज ईण्डिया कम्पनी लिमिटेडले निकट भविष्यमा नेपालको लगानी बोर्डमार्फत लगानी बोर्डले काम गर्न लागेको छ ।

सो आयोजनाले पालिकाको भू–भाग, टीएल टावर र ट्रान्समिसन लाईनले प्रभावित बनाउनेभन्दै अध्यक्ष बस्नेतले जनताको विभिन्न माग राखेर सरोकारवाला निकायलाई कडा दवाव दिएका छन् ।

टेम्केमैयुङ गाउँपालिकालाई परियोजनाले बेवास्ता गरेर काम अगाडि बढाउँदा भविष्यमा सजिलै काम हुन सक्ने सम्भावना निकै कम छ । अध्यक्ष बस्नेतले भने, ‘आयोजनाले जनता प्रत्यक्ष प्रभावित हुने भएपछि म चुप लागेर बस्ने कुरा आउँदैन ।

मुआब्जासहितका माग राख्नु हाम्रो दायित्व र कर्तव्य हो । आयोजना पनि पूरा हुनुपर्छ । जनताका माग पनि पूरा गर्नुपर्छ । हामी विकास विरोधी होइनौँ । परियोजनालाई हाम्रो साथ र सहयोग रहन्छ ।’

Published : Tuesday, 2022 July 12, 4:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया