कांग्रेस सभापति बानियाँले सुनाए बागमतीमा चक्रपथ बनाउने योजना

गोकुलगंगा । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अगाडिको पुस्तालाई गाली गरेर विकास नहुने बताएका छन् ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा आइतबार आयोजित कार्यक्रममा सभापति बानियाँले अगाडिको पुस्ताले दिएको उपलब्धीलाई रक्षा गरेर अहिलेको पुस्ताले विकास गर्नुपर्ने बताए ।

‘हिजोको पुस्तालाई गाली गर्ने होइन । हाम्रो पुस्ताले विकास गर्ने हो । राजनीतिक परिवर्तन भयो । हामीले विकासमा परिवर्तन गर्नुपर्छ’, उनले भनेका छन् ।

कांग्रेसका सभापति बानियाँले बागमती प्रदेशका जिल्लाहरूलाई जोडेर चक्रपथ बनाउने बताएका छन् । उनले बागमती प्रदेशमा पर्यटकीय उद्देश्यले चक्रपथ बनाउने उद्देश्य राखिएको बताए । चक्रपथ बनाउँदा खर्च धेरै लाग्ने भए पनि दीर्घकालीन योजनामा पारेर काम अगाडि बढाउने बानियाँले बताए ।

गोकुलगंगाको बाटो जिर्ण अवस्थामा रहेको भन्दै उनले बाटो बनाउन ३ करोड बजेट आएको बताए । उनले अर्को आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरेर काम अगाडि बढाउनुपर्ने बताए ।

साउनदेखि नै काम गरेर सडक बनाउनेदेखि पिच गर्नेसम्मका काम गर्नुपर्ने उनले बताए ।

कांग्रेस सभापति बानियाँले भने, ‘बिचारमा अनेकता हुन सक्छ । पार्टीका आ–आफ्नो नीति होला । विकासमा हामी एकतावद्ध भएर बढ्ने देखिएको छ ।’

‘राजनीतिमा अनेक विचार हुन्छ । लोकतन्त्रमा अनेक मन भए पनि त्यही भूगोलमा बसेका जनताको लागि विकास गर्ने हो’, उनले भनेका छन् ।

‘राजनीति न्याय र सेवाका लागि गरिन्छ’, उनले भने, ‘गरिवको लागि राजनीति गरेको होइन भने त्यो व्यापारमुखी हो । त्यो गरिवको लागि होइन ।’

उनले भने, ‘माओवादी विद्रोह विभेदका कारणले भएको हो । त्यो विद्रोहलाई शान्ति प्रक्रियाले अन्त्य गर्नुप¥यो ।’

सभापति बानियाँले स्वास्थ्य वीमामा जोड दिए । ‘गरिवको स्वास्थ्य वीमा निःशुल्क गर्नेछु भन्ने कार्यक्रम ल्याउनुपर्छ । अर्को वर्षको बजेटमा यो कार्यक्रम ल्याउनुस्’, उनले भने, ‘स्वास्थ्य वीमा सरलिकृत भएको छैन । त्यसको गुनासो सुन्नुपर्छ ।’

‘गरिवको छोराछोरीलाई १२ कक्षासम्म निःशुल्क पढाउने नीति लिनुपर्छ । ५ वर्षभित्र त्यो निर्णय हुनुपर्छ’, उनले भनेका छन् ।

‘राजनीतिमा आएर व्यापार गर्न खोजियो भने जनताले दण्ड गर्छन्’, उनले भने, ‘जित्ने जनप्रतिनिधि सबैको जनप्रतिनिधि हो ।’

‘कुरा गरिवको गर्ने, काम पुँजीपतिको गर्ने हो भने राम्रो हुँदैन’, बानियाँले भने, ‘जनप्रतिनिधि सेवक हो शासक होइन भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

कार्यक्रममा रामेछाप कांग्रेसका सभापति कान्छाराम तामाङ, गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का, उपाध्यक्ष उषा कार्कीलगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2022 July 11, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया