नेविसंघले पत्ता लगायो त्रिविको शक्तिशाली लापरबाही, छानविन नगरे आन्दोलनको चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विभिन्न विषयको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको विषय छानबिन गर्ने माग गरेको छ ।

आइतबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गरेर पटक–पटक प्रश्नपत्र हुबहु दोहोरिँदा परीक्षाको विश्वसनीयता र वैधानिकतामाथि प्रश्न उठेको बताएका छन् । उनले सो घटनाको छानबिन गर्न माग गरेका छन् ।

नेविसंघका अध्यक्ष शेर्पाले निजी कलेजका प्रश्नपत्रसँग हुबहु हुनुले विश्वविद्यालयको लापरबाही, गैरजिम्मेवारीमात्रै नभइ शंकास्पद व्यवहार देखिएको जनाएका छन् ।

असार २२ गतेमात्रै बीबीए छैटौं सेमेस्टरको ‘एमजीटी २०३ : अर्गनाइजेसन बिहाभियर’को प्रश्नपत्र मोर्डन कलेजको ‘प्रिबोर्ड’ परीक्षाको प्रश्नसँग हुबहु मिलेको थियो ।

शनिबारमात्रै त्रिविको बीबीए छैटौँ सेमेस्टरको ‘नेप्लिज सोसाइटी एण्ड पालिटिक्स’ विषयको प्रश्नपत्र पाँचौं सेमेस्टरको सोसोलोजीको प्रश्नपत्रसँग मिलेको थियो ।

शेर्पाले यस्ता लापरबाही र शंकास्पद कार्यको छानबिन गरी दोषीलाई कारबाही नगरिए विश्वविद्यालयविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जेठमा एमए तेस्रो सेमेस्टरको ‘पब्लिक इकोनोमिक्स’ र प्रथम सेमेस्टरको ‘इन्टरनेसनल पोलिटिक्स’ विषयको प्रश्नपत्र हुबहु दोहोरिएका थिए ।

Published : Sunday, 2022 July 10, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया