बजेटमा नाम जोडिएपछि राज्यमन्त्री एवम् कांग्रेस नेता श्रेष्ठद्वारा कडा रुपमा प्रतिवाद

काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठले पछिल्लो केही दिनयता आफ्नो नाम जोडेर चरित्रहत्या गर्ने नियतले विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शनिबार राज्यमन्त्री श्रेष्ठले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘कुनै आधार र प्रमाणविनाका एकै व्यहोराका कपोलकल्पित, मनगढन्ते, तथ्यहीन र भ्रामक समाचार अफवाह, नियोजित ढंगले निरन्तर प्रकाशन एवम् प्रशारण हुनु खेदजनक छ ।’

‘आगामी आर्थिक वर्षको बजेट निर्माणमा मेरो कुनै पनि प्रत्यक्ष भूमिका र संलग्नता छैन’, उनले भनेका छन्, ‘म आफ्नो पदस्य जिम्मवारी गर्ने क्रममा पूर्ण जवाफदेहिता रहँदै आएको छु । मैले पदको दुरुपयोग गरेको छैन र सार्वजनिक निगरानीमा सधैं खडा रहेको छु ।’

राज्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘बजेट निर्माणमा स्वार्थ समूहर्लाइ प्रवेश गराएको, घरमा पार्टी गरेको भन्ने जस्ता तथ्यहीन र भ्रामक लाञ्छनाको एकोहोरो आक्रमणले मलाई दुखित तुल्याएको छ ।’

‘म कनै पनि लाभ हासिल गर्ने अभिष्ट बोकेर राजनीतिमा प्रवेश गरेको होइन’, उनले भने, ‘चार दशकभन्दा लामो मेरो व्यवसायिक जीवनको ज्ञान र अनुभवबाट सरकारमा रहेर मुलुकको विकास एवम् समृद्धिका लागि योगदान गर्ने अभिप्रायले म राजनीतिमा लागेको हुँ । संसदमा रहेर मैले लगानी मैत्री वातावरण निर्माका लागि कानूनी सुधारका पक्षमा भूमिका निर्वाह गरेको छ ।’

‘स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा रहेर मैले कोभिड–१९ महामारीको समयमा स्वास्थ्य सामग्री तथा खोपको आपूर्ति एवम् वितरणलाई व्यवस्थित गर्न निर्वाह गरेको भूमिका यहाँहरूको सामु छर्लङ्ग छ’, उनले भनेका छन् ।

‘म आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा सदैव सचेत र जवाफदेही रहँदै आएको छु’, राज्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘यस क्रममा सञ्चार क्षेत्र, नागरिक समाज र समाजका सबै तहतप्काबाट प्राप्त सुझाव, प्रतिक्रिया र आलोचनालाई मैले सदैव सहृदयपूर्वक आत्मसात गर्दै त्यसलाई पृष्ठपोषणको रुपमा ग्रहण गर्ने गरेको छु ।’

उनले भनेका छन्, ‘हुँदै नभएका काल्पनिक कथा बुनेर समाजलाई दिग्भ्रमित तुल्याउने यस्ता कार्यप्रति म खेद व्यक्त गर्दछु । ती काल्पनिक कथालाई प्रमाणित गर्नुहुन आग्रह पनि गर्दछु ।’

राज्यमन्त्री श्रेष्ठले भनेका छन्, ‘मैले आफ्नो पदको दुरुपयोग गर्दै गलत काम गरेको प्रमाणित भए राजनीतिक यात्रामा पूर्णविराम लगाउने प्रण समेत गर्दछु ।’

राज्यमन्त्री श्रेष्ठ नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन् । बजेटको करको दायर फेरबदल भएको विषयमा राज्यमन्त्री श्रेष्ठको नाम जोडेर कान्तिपुर दैनिक, अन्नपूर्ण पोस्ट दैनिक र केही अनलाईनहरूले जथाभावी समाचार लेखेपछि उनले खण्डन गरेका छन् ।

Published : Sunday, 2022 July 10, 10:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया