मीनकृष्णलाई कांग्रेसबाट टिकट पक्का, प्रचारमा लाग्न सभापतिको निर्देशन, मन्त्री बनाउने लिए जिम्मेवारी

लगनखेल । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले युवा नेता मीनकृष्ण महर्जनलाई निर्वाचनका लागि उम्मेदवार बनेर प्रतिस्पर्धाका लागि तयारी गर्न निर्देशन दिएका छन् ।

ललितपुरमा शनिबार आयोजित कार्यक्रममा सभापति श्रेष्ठले महर्जनलाई पार्टीबाट उम्मेदवार बनाउन आफ्नो तर्फबाट सबै सहयोग गर्ने आश्वासन दिए । उनले महर्जनलाई जिताएर ल्याउन खेलाडी र खेलकुद क्षेत्रका व्यक्तिहरूसँग आग्रह पनि गरेका छन् ।

उनले खेलकुदको विकासमा मीनकृष्ण महर्जनले निरन्तर रुपमा कार्यक्रम गरिरहेको भन्दै प्रशंसा गरेका छन् ।

‘मीनकृष्ण महर्जनजीले खेलकुदको विकासमा जुन किसिमले कार्यक्रम गरिरहनु भएको छ’, सभापति श्रेष्ठले भने, ‘म ललितपुर जिल्ला कांग्रेसको सभापतिको हैसियतले आउँदै गरेको प्रदेश चुनाव र संघको चुनावमा म मीनकृष्ण महर्जनजीलाई तयारी रुपमा आफूलाई अगाडि बढाउनको लागि पनि आज घोषणा पनि गरेँ ।’

‘मैले ललितपुर जिल्लाको पार्टी सभापति भएको हिसावले मैल ललितपुर जिल्लाबाट गर्नुपर्ने काम सम्पूर्ण रुपमा तयारीका रुपमा अगाडि सार्छु’, सभापति श्रेष्ठले भने, ‘अगाडि सारिसकेपछि जितेर ल्याउन भूमिका तपाई सम्पूर्ण खेलकुदको साथीहरूको हुने भएको हुनाले उहाँलाई जिताएर पनि ल्याउनुस् ।’

‘त्यसपछि खेलकुद मन्त्रालयको मन्त्री बनाउने जिम्मा पनि ललितपुर कांग्रेसले सभापतिको हैसियतले यो पनि जिम्मा लिएँ’, श्रेष्ठले भनेका छन् ।

कांग्रेसका युवा नेता महर्जन गएको निर्वाचनमा प्रदेश सभातर्फ उम्मेदवार बनेका थिए ।

सभापति श्रेष्ठले महर्जनलाई पुनः तयारी गर्न र प्रचार प्रसारमा जुट्न निर्देशन दिएपछि ललितपुरका खेलाडी र खेलकुदसँग जोडिएकाहरूमा उत्साह छाएको छ ।

महर्जनले पनि आफूसहित कांग्रेसले उम्मेदवार बनाउने सबैलाई जिताउन सबै प्रयासहरू गर्ने प्रतिवद्धता जनाएका छन् ।

Published : Saturday, 2022 July 9, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया