कांग्रेसले खेलकुदका अनुभवी मान्छेलाई खेलकुद मन्त्रालय दिन सक्छ : बानियाँ

लगनखेल । नेपाली कांग्रेस बागमतीका सभापति एवम् संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले खेलाडीहरू पहिचान गरेर उनीहरूलाई सम्मान हुने गरी काम गर्न निर्देशन दिएका छन् ।

शनिबार ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा लगनखेलमा आयोजित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७८ को रनिङ्ग शिल्ड वितरण, ललितपुरका भोलेन्टर कोचहरूको सम्मान तथा खेलाडीहरूको बिदाइ कार्यक्रममा बानियाँले बागमती प्रदेश सरकारले खेलकुदलाई ठूलो महत्व दिएको बताए ।

उनले भने, ‘खेलकुदमा बागमती प्रदेश सबैभन्दा अगाडि छ । बागमती प्रदेश सरकारले खेलकुदमा १ अर्बभन्दा धेरै रकम छुट्याएको छ । खेलकुदलाई अझै प्राथमिकता दिन्छौँ ।’

‘नेपाली कांग्रेसबाट खेलजगतमा लागेका साथीहरू माननीयको प्रदेशको टिकट पाएर चुवना जितेर आएपछि खेलकुदमा लागेका अनुभवी मान्छेलाई खेलकुद मन्त्रालय पनि दिन सकिन्छ’, उनले भने, ‘मन्त्री बनाउन सकिन्छ । बागमती प्रदेश खेलकुदलाई व्यवस्थित गर्दै सबै विधाका खेलकुदलाई अगाडि बढाएर बागमती प्रदेशमा सबैभन्दा बढि गोल्डमेडल जित्ने प्रदेशको पहिचान देखाउन चाहन्छ ।’

उनले भने, ‘राजनीतिमा सबै विधाका मान्छेहरू आउनुपर्छ । सधैँभरि सिद्धान्त र दर्शन पढेका मान्छे मात्रै राजनीतिमा आएर हुँदैन । सिद्धान्तका कुरा गर्नेहरू लोकतान्त्रिक बाटोमा आइसके । अब राजनीतिक कुरा गरेर फाइदा छैन ।’

‘जनताको जनजीविकाको कुरा, समृद्धिको कुरा, जो–जो जुनजुन विधामा छ नेपाललाई अब्बल बनाएर विश्वलाई चिनाउने हो’, सभापति बानियाँले भनेका छन् ।

‘एउटा जिल्लाको खेलाडीको रुपमा खेल जित्नु, प्रदेशमा जित्नु, राष्ट्रपति शिल्डामा विजयी हुनेहरूले भोलिका दिनमा प्रदेशको प्रतियोगितामा भाग लिने, प्रदेशले गराएको गेममा जितेपछि देशको प्रतियोगितामा भाग लिने’, उनले भने, ‘देशबाट जितेपछि अन्तर्राष्ट्रिय जगतको साफदेखि लिएर एसियन गेम तथा अनेक गेममा भाग लिएर नेपाली खेलाडीहरू संगीना बैद्यदेखि धेरै खेलाडी एवम् खेलकुद जगतका पहिचान नेपालको शान हो ।’

बानियाँले भने, ‘धेरै साथीहरूले नेपालको शिर उच्च राखेका छन् । ताइक्वान्दोमा त झन् अझै धेरै नाम राखेका छन् ।’

सभापति बानियाँले भने, ‘हाम्रो मीनजी (मीनकृष्ण महर्जन) नै करातेको गोल्ड मेडलिस्ट, उहाँ खेल बुझेको मान्छे, राजनीतिमा आउनुभएको छ ।’

‘राजनीतिमा सबै विधाको मान्छे चाहिन्छ । उद्योगपति चाहिन्छ । खेलाडीबाट आउनु प¥यो । कृषि, उद्योगधन्दा सबै जानको सबै बुझेको पुस्तालाई नेतृत्व गर्न सक्ने नेताको आवश्यक्ता छ’, उनले भनेका छन् ।

‘खेलकुदलाई महत्व दिएर स्थानीय सरकारहरू र नेपाली कांग्रेसले आफूले जितेका पालिकाभित्र खेलाडीहरूलाई सम्मान गर्ने, खेलाडीहरूलाई सम्मानित व्यक्तित्वको रुपमा राख्नुपर्छ’, उनले भने, ‘गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनजीले आफ्नो पालिकाभित्रका पुराना र पहिचान भएका गोल्डमेडलिस्ट खेलाडीहरूलाई आजीवन मासिक ५ हजार दिने निर्णय गरेको छु । कार्यान्वयन गर्न अगाडि बढेको छभन्नुभएको छ ।’

उनले भने, ‘आफ्नो पालिकाभित्र गरिवको छोराछोरीलाई निःशुल्कशिक्षा दिने । कक्षा १२ सम्म पैसा नलाग्ने गरिवको रेखामुनि कार्ड बनाएकाहरूलाई निःशुल्क सेवा दिने । स्वास्थ्य वीमा आज २५ सय भनेको छ ।’

‘जनप्रतिनिधिले आफ्नो क्षेत्रभित्र त्यो गरिव जो छ त्यसको स्वास्थ्य वीमा निःशुल्क गरिदिने । धनीसँग करको दायरा बढाउने, उद्योग गर्नेसँग कर लिने’, बानियाँले भने, ‘हुनेसँग कर लिने । नहुनेलाई शिक्षा, स्वास्थ्य, खेलकुदमा बजेट विनियोजन गरेर व्यापक रुपमा उत्साह जगाउने ।’

कार्यक्रममा भोलेण्टर प्रशिक्षकहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा ललितपुर कांग्रेसका सभापति जितेन्द्र श्रेष्ठ, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनसहितका खेलाडी र नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2022 July 9, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया