कपिलवस्तुमा भारतले बनाइदियो विद्यालयको भवन

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बुद्धभूमि नगरपालिकामा श्री माध्यमिक विद्यालयका लागि निर्मित विद्यालयको भवनको उद्घाटन गरेका छन् ।

कपिलवस्तुमा शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सांसद बृजेशकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठलगायतको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा क्षेत्रमा नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग नेरु. ३ करोड ४० लाखको लागतमा यस परियोजनाको निर्माण भएको हो ।

श्री माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको पुरानो विद्यालय हो । नवनिर्मित पूर्वाधारले विद्यालयमा सिकाईका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने विश्वास भारतीय दूतावासले लिएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभीटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सात वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् । नेपाल र भारतबीच लामो समयदेखिको बलियो विकास साझेदारी रहिआएको छ ।

Published : Friday, 2022 July 8, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया