ढिलासुस्ती र लापरवाही नगरेर गुणस्तरीय काम गर्न मन्त्री चौधरीको निर्देशन

रौतहट । सहरी विकासमन्त्री मेटमणि चौधरीसहितको टोलीले मन्त्रालयबाट संचालित विभिन्न योजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

रौतहटमा बिहीबार मन्त्री चौधरीले प्रगतिको जानकारी लिएका हुन् । मन्त्रीसहितको टोलीले आयोजनाका सरोकारबालाहरुसित छलफल पनि गरेको छ ।

गौर र आसपासमा मन्त्रालयबाट संचालित योजनालाई तत्काल कार्यान्वयनमा ल्याउन र निर्धारित समयभित्र द्रूत गतिमा सम्पन्न गर्न मन्त्री चौधरीले निर्देशन दिएका छन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आग्रहमा मन्त्री चौधरीसहित आएको मन्त्रालयको टोलीले ५२ किलोमिटर सडक र बरहवा तालको निर्माणको ठेक्का लिएको निर्माण कम्पनीका साथै सरोकारवालालाई एक ठाउँमा राखेर चाँडै काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई समेत साथै राखेर मन्त्रालयको टोलीले योजनाको प्रगति बुझेका थिए ।

योजना सम्पन्न गर्नका लागि नगरपालिकाले सबै किसिमको सहयोग गर्न तयार रहेको नगर प्रमुख साहले बताएका छन् ।

सडक र बरहवा तालको निर्माणको ठेक्का पाएको कम्नीका निर्माण व्यावसायी नागेन्द्र साहले मन्त्रालय तथा नगरपालिकाको सहयोगमा चाँडै नै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

सहरी मन्त्री चौधरीले काममा अब कुनै पनि ढिलासुस्ती र लापरवाही हुन नहुनेभन्दै समयमा गुणस्तरीय काम गर्नका लागि निर्देशन दिएका छन् ।

मन्त्री चौधरीसँग अनुगमनमा मन्त्रालयका सचिव रमेश सिंहसहितका उच्च कर्मचारीहरू पनि रौतहट आएका थिए ।

Published : Thursday, 2022 July 7, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया