प्रतिभा सहकारीका अध्यक्षलाई ‘खोर’मा राख्न आदेश, फस्ने डरले माओवादी मन्त्री पनि तनावमा

काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र र कीर्ते काण्डमा पक्राउ परेका प्रतिभा वहुउद्देश्यीय सहकारी संस्था ललितपुरका अध्यक्ष माधवप्रसाद तिमल्सिनालाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

शैक्षिक योग्यताको प्रमाण पत्र कीर्ते गरेको अभियोगमा तिमल्सिनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले असार १४ गते ललितपुरको थसीखेलबाट पक्राउ गरेको थियो । तिमल्सिनालाई पहिलो पटक सीआईबीले ५ दिन म्याथ थप गरेर अनुसन्धान गरेको थियो ।

सीआईबीले आइतबार जिल्ला अदालत काठमाडौंबाट दोस्रो पटक पाँच दिन म्याथ थप गरेको सीआईबीले जनाएको छ ।

तिमल्सिनालाई नक्कली शैक्षिक प्रमाण पत्र काण्डमा ७ वर्षसम्म कैद र जरिवाना दुवै हुन सक्छ । उनलाई अदालतले धरौटीमा छाड्न पनि मानेको छैन । कारबाहीबाट बच्न तिमल्सिनाले ठूलो हर्कत गरे पनि सीआईबीले पक्राउ गरेर कारबाही अगाडि बढाएको छ ।

तिमल्सिनाले माओवादी केन्द्रका शक्ति देखाएर भूमिसुधार तथा गरिवी निवारणमन्त्री शशि श्रेष्ठलाई प्रभावमा पारेर राष्ट्रिय सहकारी विकास बोर्डको सदस्यमा नियुक्ति पाउन सफल भएका थिए । उनको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी परेपछि सीआईबीले पक्राउ गरेर थुनामा राखेर अनसन्धान गरेको छ ।

तिमल्सिनाविरुद्ध अख्तियार दुरुपयोग अनुसनधान आयोगमा पनि उजुरी परेको छ । अख्तियारले पनि तिमल्सिनाविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

तिमल्सिना विवादित व्यक्ति हुन् । उनले प्रतिभा सहकारीमा निक्षेपकर्तालाई ठगी गरेको तथा पैसा फिर्ता गर्न नमानेको आरोप पनि खेप्दै आएका छन् ।

तिमल्सिनाले प्रतिभा सहकारीमा उर्जामन्त्री पम्फा भुसाललाई पनि सेयर दिएका छन् । प्रतिभाको मालिक मन्त्री भुसाल पनि हुन् । माओवादीबाट मन्त्री बनेकी श्रेष्ठ पनि कीर्ते, जालसाजी र अख्तयार दुरुपयोग काण्डमा फस्न सक्ने कानून व्यवसायीहरूको भनाइ छ ।

(दोस्रो पटक थप भएको म्याद पाँच दिन हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।)

Published : Monday, 2022 July 4, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया