एमालेसँग सहकार्य गर्ने शेखर समूहको निष्कर्षको भण्डारीद्वारा विरोध, सरकार ढाल्ने हर्कतको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य मोती भण्डारीले पार्टीभित्रको अन्तरविरोधलाई लिएर एमालेसँग सहकार्य गर्ने हर्कतको विरोध गरेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भण्डारीले एमालेसँग सहकार्यको कार्ड देखाएर भागबण्डा माग्ने कुरा राजनैतिक सम्मत नरहेको बताएका छन् ।

‘पार्टीभित्रको अन्तरबिरोधलाई लिएर एमालेसंग सहकार्य गर्ने र भागबण्डा माग्ने कुरा राजनैतिक सम्मत छैन’, उनले भनेका छन्, ‘पार्टीभित्रको लडाइँ र निकास पार्टीभित्रैबाट खोज्नुपर्छ ।’

‘हाम्रो समूहमा पार्टीभित्रका डाक्टरहरू धेरै हुनुहुन्छ’, युवा नेता भण्डारीले प्रश्न गर्दै भनेका छन्, ‘राजनीतिमा एजेण्डा सकिएकै हो त ?’

नेता भण्डारी शेखर समूहबाटै लुम्बिनी प्रदेश कार्यसमितिको निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए । उनले कांग्रेसको हितमा आफ्नो राजनीतिक जीवनलाई जोखिममा राखेर कठोर आलोचना गर्ने गरेका छन् । उनले कांग्रेस रह्यो भने मात्रै नेता र कार्यकर्ता रहनेभन्दै कांग्रेस बचाउने दायित्व सबैको रहेको बताउने गरेका छन् ।

दुई दिन अगाडि नेता शेखर कोइराला समूहको काठमाडौंमा गुटको बैठक बसेको थियो । बैठकमा एमालेसँग मिलेर जाने सहमति गरेको कुरा बाहिर आएको थियो ।

नेता शेखर कोइराला र उनी निकट मानिने नेताहरूको भेलाले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर एमालेसँग सहकार्य गरेर जाने र प्रधानमन्त्रीबाट शेरबहादुर देउवालाई हटउने निष्कर्ष निकालेका टिकाटिप्पणी भएका बेला नेता भण्डारीको यो अभिव्यक्ति आएको छ ।

शेखरले एमालेका अध्यक्ष खड्गप्रसाद ओली र दोस्रो तहका नेताहरूसँग निरन्तर सम्पर्क तथा भेटघाटमा छन् । उनीहरूले एमाले र ओलीलाई अगाडि देखाएर पार्टीभित्र भाग लिने तथा देउवालाई कमजोर बनाउने रणनीतिमा लागेको आरोप छ ।

शेखर कांग्रेसको हितमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र लोभमा धेरै हर्कत गरिरहेको आरोप छ । शेखरले गगन थापा, जीवन परियार, डा.चन्द्र भण्डारी, डा.गोविन्दराज पोखरेलसहितका नेताहरूलाई परिचालन गरेर एमालेसँग सम्पर्कमा रहेको चर्चा कांग्रेसभित्र छ ।

आवश्यक पर्दा कांग्रेसलाई ठूलो क्षति पु¥याउने योजनामा शेखर समूह रहेको चर्चा र टिकाटिप्पणी हुन थालेका छन् ।
१४औँ महाधिवेशनमा भागबण्डाको राजनीति अन्त्य भएको र आफूहरू हारे पनि जिते पनि भाग नलिने प्रतिवद्धता जनाएका शेखर, गगनहरूले एमालेलाई देखाएर पार्टीभित्र भागबण्डाको राजनीति शुरु गरेका छन् ।

गुटको बैठकमा शेखर समूहले देउवालाई प्रधानमन्त्री पदबाट प्रदेश र प्रतिनिधि सभाको निर्वाचनभन्दा अगाडि नै हटाउने निर्णय गरेको बुझिएको छ । शेखर समूह आफ्नो उद्देश्यमा पूरा भयो भने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसको नराम्रोसँग पराजय हुनेछ ।

शेखर, गगनहरू आफ्नो उद्देश्यमा पूरा भएमा देश र जनताले ठूलो नोक्सानी व्यहोर्नु पर्नेछ । शेखरलाई गिरिजाप्रसाद कोइरालाले कांग्रेसमा जबरजस्ती रोकेर राखेका हुन् ।

माओवादी शान्ति प्रक्रियामा आउनेवित्तिकै पाएको सांसद पदमा शेखरले सांसद बनेर माओवादी प्रवेश गर्न खोजेका थिए । यो कुरा सुजाता कोइरालालाई सोधे पनि हुन्छ । गिरिजाबाबुसँग निकट रहेका सबै नेताहरूलाई शेखर माओवादीको मनोनीत सांसद बनेर जान खोजेको कुरा थाहा छ ।

Published : Monday, 2022 July 4, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया