बतास समूहले ‘ओके’ भनेपछि आन्दोलन छाडेर कर्मचारीहरू काममा फर्किए

पोखरा । बतास अर्गनाइजेसनले आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि मणिपाल शिक्षण अस्पतालको विवाद टुंगिएको छ ।

सहमति भएसँगै आइतबारबाट अस्पतालको ओपीडीसहितका सबै सेवा पूर्ण रूपले सञ्चालनमा आएका छन् ।

मणिपाल शिक्षण अस्पतालका कर्मचारी युनियनले विभिन्न मागहरू राख्दै लामो समयदेखि अस्पताल प्रशासनमा ताला लगाएर विरोध गरिरहेका थिए ।

प्रशासनले दुई महिनाभन्दा लामो समयसम्म पनि मागको सुनुवाइ नगरेपछि कर्मचारी युनियनले बहिरंग विभाग (ओपीडी) सेवासमेत आंशिक रूपमा बन्द गरेका थिए ।

बतास समूहले मणिपालको व्यवस्थापन लिएपछि अस्पतालमा एक महिनादेखि ओपीडी सेवा प्रभावित बनेको थियो ।

शुक्रबार भएको त्रिपक्षीय वार्तामा लिखित सहमति भएपछि आइतबारदेखि ओपीडी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले जानकारी दिएका छन् ।

‘शुक्रबार त्रिपक्षीय वार्ता भएको थियो । वार्तामा सहमति भएसँगै आइतबारबाटै आन्दोलन फिर्ता भएको छ’, उनले भनेका छन् ।

उनीहरूबीच अस्पतालमा कार्यरत कर्मचारीको सेवासुविधा समयसापेक्ष बनाउने र कर्मचारीले पनि आफ्नो क्षमता, योग्यता तथा पदअनुसार काम गर्ने र भविष्यमा कुनै समस्या आएमा वार्ता वा छलफलबाट नै समाधान खोज्ने र बन्द, ताला लगाउने गतिविधि नगर्ने सहमति भएको छ ।

भारतीय लगानीकर्ताको स्वामित्वमा रहेको मणिपाल मेडिकल कलेजको स्वामित्व गत वर्ष बतास समूहले खरिद गरेको थियो ।

मणिपाल मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृतमा अनिल ओडुविल नियुक्त भएका छन् । भारतीय नागरिक ओडुविलसँग मेडिकल कलेजको क्षेत्रमा १५ वर्षको अनुभव राखेका छन् ।

मणिपाल कलेजको निर्देशक (गभर्नमेन्टल अफेयर)मा कृष्णमोहन श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

Published : Monday, 2022 July 4, 11:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया