प्रहरीका १७ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका पदोन्नति भएका १७ जना प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ ।

आइतबार प्रहरी हेडक्वाटरमा आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले उनीहरूलाई दर्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी रहेका छन् ।

टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि रहेका छन् ।

नेपाल सरकारको असार १७ गते बसेको मन्त्रिपरिषदको निर्णयबाट १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई डीआईजीमा बढुवा गर्ने निर्णय भएको थियो ।

आईजीपी सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्न निर्देशन दिएका छन् ।

उनले पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

आईजीपी सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने बाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।

यसैबीच, आईजीपी सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गरेकी नेपाल पुलिस क्लबमा आवद्ध टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान समेत गरेका छन् ।

Published : Sunday, 2022 July 3, 8:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया