दाङ क्षेत्र– १ का मतदाताको शिर निहुरिने काम गर्ने छैन : मन्त्री चौधरी

लमही । सहरी विकासमन्त्री मेटमणि चौधरीले आफूलाई सांसदमा जिताएर मन्त्री बनाउने मतदाताहरूको शिर झक्ने गरेर कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार दाङको क्षेत्र नं. १ मा आयोजित स्वागत र बधाई लगायतका विभिन्न कार्यक्रमहरूमा चौधरीले आफ्ना मतदाताहरूकै कारण मन्त्री बन्ने अवसर मिलेको बताए । उनले भने, ‘दाङ क्षेत्र नं. १ का मतदाताहरूको शिर निहुरिने गरेर कुनै पनि काम गर्नेछैन । जति समय मन्त्री हुन्छ राम्रो काम गरेर देशभरिका जनताको मन जित्ने प्रयास गर्नेछु ।’

मन्त्री भनेको पद क्षणिक र अस्थायी पद रहेको बताएका चौधरीले आउँदै गरेको निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह पनि गरेका छन् । मन्त्री चौधरीले आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताए ।

भालुबाङको पुल्चोकमा राप्ती उद्योग वणिज्य संघले आयोजना गरेको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री चौधरीले संविधानको प्रावधानअनुसार तोकिएको समयमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताए । उनले निर्वाचन भएको मितिलाई मान्ने कि सांसदले शपथ लिएको समयलाई मानेर निर्वाचनमा जानेभन्ने विषयमा परामर्शहरू भइरहेको बताए ।

मन्त्री चौधरीले निर्वाचनसम्म नै गठबन्धन जाने बताए । उनले गठबन्धनमा अरु पार्टीहरू पनि आउन सक्ने सम्भावना रहेको बताए ।

राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको राजधानी बनाएको विषयमा मन्त्री चौधरीले राजधानीको विकासका लागि सबै सहयोग गर्ने बताए । उनले अबका बैठकहरू लुम्बिनीको राजधानी राप्ती गाउँपालिकामा नै बस्ने उनले बताएका छन् ।

गढवा उद्योग वाणिज्य संघको हलमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री चौधरीले गाउँ र जनताको विकासको काममा कसैले पनि अवरोध गर्न नहुने बताए । उनले खरको छाना रहेका घरमा जस्ता पाता लगाउने आफ्नो अभियानलाई केही व्यक्तिले आलोचना गरेर असफल बनाउने प्रयास गरेको भन्दै चिन्ता जनाए ।

बगरापुरमा थारु संग्राहलय बनाउनेबारमा सहयोग गर्ने मन्त्री चौधरीले आश्वासन दिएका छन् । बगरापुरमा आयोजित कार्यक्रममा उनले बगरापुरको विकासमा आफू सधैँ सचेत रहेको बताए ।

मन्त्री चौधरीलाई आफ्नो निर्वाचन क्षेत्रका विभिन्न संघ संस्थालगायतले बधाई दिएका छन् । चौधरीले पनि आफूलाई विजयी बनाएर सांसद बनाइ पठाएकै कारण मन्त्री बन्न पाएको भन्दै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।

मन्त्री चौधरी बिहीबार, शुक्रबार, शनिबार र आइतबार गरी चार दिन आफ्नो गृहजिल्लामा रहेर भेटघाट गर्नुका साथै मतदाताहरूलाई धन्यावाद दिएका छन् । सबै मतदाताको घरघरमा पुग्न नसके पनि चौधरीले मन्त्री भएको पहिलो हप्ता नै निर्वाचन क्षेत्र र गृहजिल्ला दाङ आएर मतदाताप्रतिको निकटताका बारेमा सन्देश दिएका छन् ।

मन्त्री चौधरी आइतबार देउखुरीका विभिन्न स्थानमा हुने कार्यक्रममा भाग लिएर आइतबार साँझ साढे ६ बजेको उडानबाट काठमाडौं जाने कार्यक्रम छ ।

Published : Sunday, 2022 July 3, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया