राष्ट्रघाती हर्कत गरेपछि पूर्व वडाध्यक्ष र सचिव फरार

काठमाडौं । धनुषा जिल्ला अदालतले प्रहरीलाई पूर्व वडाध्यक्ष र सचिवलाई पक्राउ गर्न अनुमति दिएको छ ।

अदालतको अनुमतिपछि प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–८ का पूर्व वडाध्यक्ष रमेशकुमार ठाकुर र वडा सचिव माधव रायको नाममा पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूले एक व्यक्तिलाई दोहोरो नागरिकताको लागि सिफारिस गरेका थिए । सोही अभियोगमा प्रहरीले अनुसन्धान गरेर कारबाही चलाउन पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जी जारी भएपछि उनीहरू दुबै जना फरार भएका छन् । उनीहरूले मुखियापट्टी मुसहरनिया गाउँपालिको तुलसियाही जब्दीबाट नागरिकता प्राप्त गरिसकेका आनन्द मिश्रलाई पुनः जनकपुरधाम उपमहानगरपालिका–८ बाट नागरिकताको लागि सिफारिस गरेका थिए ।

दोहोरो नागरिकता लिएका आनन्द असारको पहिलो सातामै पक्राउ परिसकेका छन् ।

पक्राउ परेका आनन्दलाई प्रहरीले अदालतबाट म्याद थप गराइ अनुसन्धान गरिरहेको छ ।

प्रहरीले अनुसन्धानको क्रममा उनीसँग दुईवटा नेपाली नगरिकता र भारतीय मतदाता परिचयपत्र समेत फेला पारेको छ ।

उनले पहिलो नागरिकता २०७० साल जेष्ठ १९ मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्राप्त गरेका थिए । दोस्रो नागरिकता ०७८ मंसिर १७ मा लिएका थिए ।

उनले लिएको नागरिकतामा आफ्नो नाम, बुवाको नाम, जन्ममिति र स्थान पनि फरक देखिएको छ ।

उनले प्राप्त गरेको पहिलो नागरिकतामा आफ्नो आनन्द मिश्र बुवाको नाम पवन मिश्र रहेको छ ।

दोस्रो नागरिकतामा आफ्नो नाम आनन्द मोहन शरण र बुवाको नाम देवशरण उल्लेख भएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट लिएको दुईवटै नागरिकतामा फोटो आनन्दकै रहेको छ ।

भारतीय मतदाता नामावली र उनले बनाएको मतदाता परिचयपत्रमा आफ्नो नाम भवेश मिश्र र बुवाको नाम पवन मिश्र रहेको छ ।

मिश्रले प्राप्त गरेको दुईवटै नेपाली नागरिकता वंशजको अधारमा रहेको छ । पूर्व वडाध्यक्ष ठाकुर ०७४ सालको स्थानीय चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

अघिल्लो निर्वाचनमा तराई मधेश लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका उनी पराजित भएका थिए ।

Published : Sunday, 2022 July 3, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया