सशस्त्र प्रहरी महिला संघद्वारा वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम सम्पन्न

काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।

शनिबार सशस्त्र प्रहरी परिवार महिला संघको २१औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाडौंको हल्चोक स्वयम्भूस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो संघद्वारा आयोजित उक्त रक्तदान कार्यक्रममा संघका पदाधिकारी तथा सशस्त्र प्रहरीअधिकृत एवं विल्लादार जवानहरू गरी कूल ७७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालका इकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी असार १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित विशेष समारोहका वीच संघकी केन्द्रीय अध्यक्ष अनिता अर्याल र विभिन्न अस्पतालका प्रतिनिधिहरूवीच स्वास्थ्य उपचारमा छुट गर्ने सम्बन्धी सम्झौता आदन प्रदान भएको हो ।

सशस्त्र प्रहरी परिवार महिला सघंको २१ औं वार्षिकोत्सवको अवसर पारी सशस्त्र प्रहरी परिवार महिला संघ र चितवन मेडिकल कलेज भरतपुर, नेपाल क्यान्सर अस्पताल हरिसिद्धि ललितपुर, काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुर, बिराट मेडिकल कलेज (टिचिङ्ग अस्पताल) र लर्ड ए बुद्ध एजुकेशन एकेडेमी लिमिटेड (नेपालगंज मेडिकल कलेज) बाँकेवीच सम्झौता भएको छ ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरु तथा उनीहरूका परिवारजनले ती अस्पतालहरूमा स्वास्थ्य उपचार गर्नु परेमा अधितकम् २५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता भएको छ ।

मानसिक स्वास्थ्य सम्बन्धी विज्ञ डा. किशोर अधिकारीले सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूलाई मनोपरामर्शका विविध पक्षहरू, अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई हुर्काउँदा ध्यान दिनुपर्ने असल अभिभावकीय शिक्षा, तनाव व्यवस्थापन, दैनिक कसरत, योगा र ध्यानले मानसिक स्वास्थ्यमा पु¥याउने फाइदाहरू लगायत व्यस्त दैनिकीमा तथा जीवनयापनमा आउन सक्ने विविध मानसिक समस्या र तिनका समाधानबारे प्रशिक्षण गरेका छन् ।

सशस्त्र प्रहरी परिवार महिला संघले राष्ट्रका लागि ज्यानको आहुती दिएका ज्ञात अज्ञात बीर शहीदहरूको आत्माको चीर शान्तिको कामना गर्दै असार १६ गते स्वयम्भूनाथ स्तुपामा दीप प्रज्वलन गरेको छ ।

संघकी अध्यक्ष श्रीमती अनिता अर्याल तथा संघका पदाधिकारीहरूले वार्षिकोत्सवको पुनित अवसरमा सो स्तुपामा दीप प्रज्वलन गरेका छन् ।

सो अवसरमा सो संघका पदाधिकारीहरू एवं सशस्त्र प्रहरी कर्मचारीहरूले स्वयम्भूनाथ मन्दिरको परिक्रमा समेत गरेका छन् ।

‘सेवा नै धर्म हो’ भन्ने मूल नाराका साथ समाज सेवाको पवित्र उद्देश्य लिएर वि.सं. २०५९ साल स्थापना भएको सशस्त्र प्रहरी परिवार महिला संघले शिक्षा, स्वास्थ्य तथा सरसफाइका क्षेत्रहरुमा सेवामूलक एवं जनचेतना अभिवृद्धि गर्ने खालका कार्यक्रम लगायत सशस्त्र प्रहरी कर्मचारीका परिवारहरूलाई सीप मूलक तथा आयमूलक विभिन्न तालिम प्रदान गर्नुका साथै विभिन्न कारण अशक्त तथा असहाय, पीडित बालबालिका एवं बृद्धबृद्धा, प्रकोप पीडितलाई विविध राहत सहयोग तथा सिमान्तकृत चेपाङ्ग समुदायका बालबालिकाहरूलाई निःशुल्क रुपमा आवाशीय सुविधासहितको अध्ययनको व्यवस्था समेत मिलाएको छ ।

Published : Sunday, 2022 July 3, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया