तुलसीपुर एयरपोर्ट विस्तारको काममा मेरो ठूलो योगदान छ : मन्त्री चौधरी

घोराही । सहरी विकासमन्त्री मेटमणि चौधरीले तुलसीपुरको टरिगाउँ एयर पोर्टको स्तरोन्नतिको काममा आफ्नो ठूलो योगदान रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ दाङले शुक्रबार घोराहीमा आयोजना गरेको सम्मान कार्यक्रममा चौधरीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई र स्व.रविन्द्र अधिकारीको समयमा तुलसीपुर एयरपोर्टको विस्तारका लागि आफूले बजेट ल्याएको बताए । उनले तुलसीपुर एयरपोर्ट विस्तारको काममा एमालेका नेता शंकर पोखरेलले अवरोध गरेको आरोप लगाए । उनले शंकर पोखरेलले अबरोध गरेको कुरा तत्कालीन पर्यटनमन्त्री भट्टराईले जानकारी गराएको बताए ।

मन्त्री चौधरीले कोइलावास नाका खोल्ने विषयमा आफू पनि सकारात्मक रहेको बताए । उनले त्यसका लागि पहल गरिरहेको बताएका छन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीले मन्त्री चौधरीलाई बधाई र शुभकामना दिएका थिए ।

यसअघि मन्त्री चौधरीले दाङमा आफ्नो सम्मान र स्वागतमा राखिएका कार्यक्रमहरुमा सहभागिता जनाएका थिए ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री चौधरीलाई सम्मान, स्वागत र बधाई दिइएको थियो ।

तुलसीपुरमा आयोजित कार्यक्रममा पनि मन्त्री चौधरीलाई बधाई र शुभकामना दिइएको थियो ।

लमहीमा आयोजित क्याम्पसको कार्यक्रममा पनि मन्त्री चौधरी सहभागी भएका थिए । उनले त्यस क्रममा पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक सहमतिका आधारमा निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

मन्त्री चौधरी शनिबार र आइतबार देउखुरीमा हुने कार्यक्रममा सहभागी भएर आइतबार बेलुका काठमाडौं फर्कने कार्यक्रम छ ।

Published : Saturday, 2022 July 2, 1:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया