नक्कली घुमुवा प्रहरीको चकित पर्ने चर्तिकला, महिलाको नाममा कोठा बुक

चन्द्रपुर । रौतहट जिल्लामा प्रहरीले नक्कली घुमुवा प्रहरीलाई पक्राउ गरेको छ ।

आफू नेपाल प्रहरीको ‘घुमुवा प्रहरी हुँ’भन्दै डर धाकधम्की देखाई सर्वसाधरणलाई दुःख हैरानी दिएको अभियोगमा चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारी टोल बस्ने ३२ वर्षीय सुमन बस्नेतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

चन्द्रपुर नगरपालिका–४ स्थित राजमार्गका यात्रुलाई सोही ठाउँस्थित चोकमा मानिसहरू र स्थानीय होटलहरूमा एक व्यक्तिले अनावश्यक हैरानी दिइरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनी उपर अभद्र व्यबहार शीर्षक मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यसैबीच, रौतहट जिल्लामा घाँटी थिची कर्तव्य गरी मारेको घटनालाई झुण्डी मृत्यु देखाएको घटनामा संलग्न रहेको अभियोगमा चन्द्रपुर नगरपालिका–९ डुमरीयास्थित मुस्लिम टोल बस्ने खुर्सैद राईन भन्ने २१ वर्षीय औसयद महमदलाई कवारीलाई असार ६ गते प्रहरीले पक्राउ गरेको छ ।

कवारीकी श्रीमती २१ वर्षीया तराना खातुन २०७८ चैत १० राति आफ्नै कोठाको पंखामा सलको पासो लगाई झुण्डीएको र चन्दननिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनाको थप अनुसन्धानको क्रममा तरानाको झुण्डिएर नभई घाटी थिची हत्या भएको खुल्न आएपश्चात कवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, रौतहटकै महिलालाई प्रेमजालमा पारी नगद तथा विभिन्न सुनका गहना लुटपाट गरेको अभियोगमा बाराको प्रसौनी गाउँपालिका–४ खुटवा प्रसौनी बस्ने ३६ वर्षीय महमद रफिक रायभाटलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित चपुर पराठा एण्ड गेष्ट हाउसमा एक महिलालाई लगेर महिलाकै नाममा कोठा बुक गरी राखेर बेहोस बनाई महिलाका सुनका विभिन्न गहना र नगद १० हजार रुपियाँ समेत गरी २ लाख ९० हजार रुपियाँ बराबरको धनमाल लुटी फरार भएको घटना अनुसन्धान गर्ने क्रममा रायभाटको संलग्नता पाइएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

रायभाट महिलाहरूलाई फोन तथा सामाजिक संजालको माध्यमबाट प्रेमजालमा पारी घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पीडितकै नामबाट होटेलको कोठा बुक गर्न लगाई पेय पदार्थमा लठ्ठिने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहना लगायत रकम समेत लुट्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

Published : Wednesday, 2022 June 29, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया