धेरै हवाई जहाज र हेलिकप्टरहरू बास बस्न काठमाडौं उपत्यका छाडे

काठमाडौं । आन्तरिक उडान गर्ने निजी कम्पनीका हवाई जहाज र हेलिकप्टरहरू पार्किङका लागि काठमाडौं उपत्यका बाहिर जान थालेका छन् ।

ती हवाई जहाजहरू सोमबारदेखि काठमाडौं बाहिर जान थालेको जनाइएको छ । सरकारले असार १३ गतेदेखि निजी कम्पनीका हवाई जहाजहरू काठमाडौं उपत्यका बाहिरका विमानस्थलमा रात्रिकालीन पार्किङमा जानुपर्ने व्यवस्था गरेको थियो ।

यसअघि, निजी कम्पनीका हवाई जहाजहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने गरेका थिए । निजी कम्पनीका हवाई जहाजहरू उपत्यका बाहिरका विमानस्थलमा बास बस्न जान थालेपछि यात्रु र विमानस्थललाई केही राहत भएको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले असार ५ गते हेलिकप्टर र हवाइजहाजका लागि तोकिएको आधार विमानस्थलमा रात्रि पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन दिएको थियो ।

बुद्ध एयरले काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलबाट उडान सुरू गरेको जनाएको छ ।

बुद्धका ६ वटा जहाज सोमबार राति सरकारले तोकेको ५ वटा विमानस्थल पुगेका छन् ।

श्री एयरलाइन्सका तीन वटा जहाज काठमाडौंबाहिर रात्रिकालीन पार्किङका लागि पुगेका छन् । प्राधिकरणले श्री एयरलाइन्सका ६ वटा जहाज काठमाडौंबाहिर पार्किङका लागि लैजान भनेको थियो ।

विमानस्थलमा विभिन्न कम्पनीका ५५ वटा हवाई जहाज र हेलिकप्टर रात्रिकालीन पार्किङका लागि पुग्नुपर्ने भनिएको थियो ।

हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन् । यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउनेछन् । ३५ वटा जहाजभने काठमाडौंबाहिर पुग्नुपर्नेछ ।

सौर्य एयरलाइन्सका तीनमध्ये दुई वटा, समिटका चारमध्ये तीन वटा, ताराका तीनमध्ये दुई वटा जहाज बाहिर पुग्नुपर्ने भनिएको थियो ।

सीता एयरका चारमध्ये तीन वटा, गुणका सातमध्ये पाँच वटा र नेपाल एयरलाइन्सका सञ्चालनमा रहेका दुई वटा ट्विनअटरमध्ये एउटाले उपत्यका बाहिरबाट पहिलो उडान गर्नुपर्ने निर्देशन थियो ।

हाल ११ वटा हेलिकप्टर कम्पनीका ३० वटा हेलिकप्टरले उडान गरिरहेका छन् । यीमध्ये २० वटा हेलिकप्टर उपत्यकाबाहिरको विमानस्थलमा रात्रिकालीन पार्किङका लागि जानुपर्नेछ ।

प्रभुका ६ वटा पोखरा विमानस्थल, श्री एयरलाइन्सका ८ वटामध्ये ३ वटा बाहिर, नेपालगन्ज विमानस्थलमा सिम्रिकका ५ वटा हेलिकप्टर रात्रिकालीन पार्किङका लागि पुग्नुपर्नेछ ।

एयर डाइनेस्टीका दुई वटा, फिस्टेलका दुई वटा हेलिकप्टरले काठमाडौंबाहिर तोकिएको आधारबाट पहिलो उडान गर्ने गरी प्राधिकरणले आधार विमानस्थल तोकेको थियो ।

Published : Tuesday, 2022 June 28, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया