राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको भवन बनाउँदा गरिवको झुपडी पनि स्मरण गरौँ : मन्त्री चौधरी

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री मेटमणि चौधरीले राष्ट्रपति, प्रधानमन्त्रीका लागि महल बनाउँदा गरिवको झुपडी पनि स्मरण गर्न आग्रह गरेका छन् ।

सोमवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको भवन बनाउँदा तल्लो तहको गरिवलाई सम्झिनुपर्ने बताएका हुन् ।

‘इलाममा एउटा कामी दाई पनि छ, अथवा दाङ्गको एउटा कुनामा चौधरी भाई नि छ’, उनले भने, ‘आज पनि हजार रुपियाँ नपाउँदा साउन/भदौ आउँदा घर चुहिएर रातभरि नसुतेको कयौं जनता पनि छन् भनेर सिंहदरबारले सम्झिनुर्‍यो ।’
सबैभन्दा कमजोर वर्गलाई उठायौँ भने मात्र मुलुकको समृद्धि हुने उनको भनाई छ ।

एउटा इलामको सबैभन्दा कमजोर मान्छे वा डोटीको सबैभन्दा गरीव मान्छे वा हिमालपारीका सयौं वर्षसम्म टिनको छाना लगाउन नसकेका जनताको विषयमा पनि ध्यान दिन उनले मन्त्रालयका उच्च कर्मचारीहरूलाई निर्देशन दिए ।

मन्त्री चौधरीले मुलुक चलाउने मान्छे घमण्डी हुञ्जेल देशअघि बढ्न नसक्ने बताएका छन् ।

सबैले आफ्नो ठाउँबाट सकेजति देश विकासमा योगदान गर्नुपर्ने मन्त्री चौधरीले बताएका छन् ।

नेताहरूले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै उनले इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए ।

‘मुलुकअघि जान नसक्नुको एउटा मात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ’, चौधरीले भने, ‘मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ ।’

उनले भने, ‘कर्मचारीको बारेमा त के भनौँ र तर, हामीले आफ्नो तर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ । कुनैपनि व्यक्तिले स्ट्रोङ कमिटमेण्ट नगर्दासम्म मुलुक बन्दैन ।’

‘हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरु बदमासी गर्दा अरु होला’, मन्त्री चौधरीले भने, ‘यो तरिकाले त मुलुक बन्दैन रहेछ नि । देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिवद्धता जनाऔं ।’

मन्त्री चौधरीले देश बनाउनको लागि सुदृढ र सशक्त प्रतिवद्धता जनाउन आवश्यक रहेको भन्दै घुस खाने नभइ सामूहिक प्रतिवद्धता जनाएर काम गर्नुपर्ने बताएका छन् ।

उनले मन्त्रीहरूले घुस खाँदा पैसा धेरै कमाउने र मुलुक नबन्ने र घुस नखाँदा पैसा नहुने भएकोले अफ्ठ्यारो रहेको बताएका छन् ।

Published : Tuesday, 2022 June 28, 7:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया