गृहमन्त्री खाणले तिनाउ नदीको पुल उद्घाटन गरेर तिलोत्तमा–बुटवल जोडिदिए

बुटवल । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–मोतीपुर–लुम्बिनी सडकखण्डको तिनाउ नदीको पुल उद्घाटन गरेका छन् ।

शनिबार खाणले तिनाउ नदीको पुलको उद्घाटन गरेका हुन् । तिलोत्तमा हुँदै मोतीपुर हिँड्ने मानिसलाई पुलले सहज बनाएको छ ।

पुलले सहज बनाए पनि सुरक्षाका दृष्टिकोणले खतरा हुन सक्ने भएकाले तत्कालै प्रहरी बिट राखी सुरक्षा दिन लुम्बिनी प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्री खाणले निर्देशनसमेत दिएका छन् ।

हाललाई सामान्य तरिकाले बारेर बिट बनाउने र काम सुरु गरिहाल्ने भन्दै खाणले पुल निर्माण भएको तिलोत्तमा नगरपालिका र बुटवल उप–महानगरपालिकाले प्रहरीका लागि २ कोठे आवास एवम् शौचालय निर्माण गरी सहयोग गर्न आग्रह गरेका छन् ।

पुल निर्माणले बुद्ध सर्किट जोड्ने गरी मानिसको आवतजावत तथा ४ नगरको भाइचारामा थप टेवा पुग्नेछ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पनि पुलले महत्वपूर्ण भूमिका खेल्ने नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री खाणको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन बुटवलको आयोजनाका रुपमा निर्माण सम्पन्न भएको छ ।

खाणले सरकारले चाहँदा चाहँदै पनि योजनाहरू समयमा सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका काममा जनता र सम्बन्धित निकायले साथ दिनुपर्ने बताएका छन् ।

तिनाउ नदीमा १२ वर्षपछि निर्माण सम्पन्न भएको पुलको प्रशंसा गर्दै मन्त्री खाणले वेल सिंकिङ प्रविधिमा निर्माण सुरु भएको पुल आधाआधीमै कंक्रिटको ढलान भेटिएपछि डिजाइन बदल्नु परेकाले लामो समय निर्माणको कार्य रोकिएर निर्माण गरिएको बताए ।

खाणले पुलको अध्ययन तथा छलफलका क्रममा आफूले पनि सामान्य ओभरसियर सरहको ज्ञान हाँसिल गरेको भन्दै अन्य स्थान तथा निर्माण व्यावसायिक लागि पनि तिनाउ नदी पुल सिकाइको पक्ष बनेको बताए ।

उनले लामो समयपछि त्रिभुवन विश्वद्यिालयको इन्जिनियरिङ इन्स्टिच्युटका प्राज्ञको टोलीले अध्ययन गरी नक्सा परिवर्तन गर्ने सुझाव दिएपछि मात्र भौतिक पूर्वाधारले स्वीकृति दिई सडक डिभिजनले पुनः काम गरेको जनाए ।

२०६७ असार २५ गते ठेक्का सम्झौता भएको उक्त पुल ११ मिटर चौडाइँ तथा १ सय ८५ मिटर लामो छ ।

कुल १३ करोड ८३ लाख १५ हजार ३ सय ७८ रुपियाँ लागत अनुमान गरिएको पुल ११ करोड ७२ लाख ८८ हजार ९ सय ७ रुपियाँमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अशोक पौडेलले बताएका छन् ।

Published : Saturday, 2022 June 25, 8:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया