पाण्डेका कारण प्रचण्डलाई तनाब, चुनावमा प्रतिस्पर्धा गर्ने बाटो खुल्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् पूर्वमन्त्री बिक्रम पाण्डेले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

कालिका कन्ट्रक्सनका मालिक समेत रहेका पूर्वमन्त्री पाण्डेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले आइतबार पाण्डेसहित २१ जनालाई सफाइ दिने फैसला गरेको छ ।

बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूलनहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सन जेभीका प्रमुख रहेका पाण्डेविरुद्ध त्यही हैसियतमा दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी मुद्दा चलाइएको थियो ।

उनीसहित मुद्दा चलाइएका सिँचाइ आयोजनाका सबै कर्मचारीलाई पनि विशेष अदालतले आइतबार सफाइ दिएको छ ।

सिँचाइ आयोजनाका तत्कालीन प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की र रमेश बस्नेतले पनि सफाइ पाएका छन् ।

सिँचाइ आयोजनाका इन्जिनियरहरू मीनराज ढकाल, सूर्यदेव थापा, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, कृष्णप्रसाद सुवेदी, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, रविनाथबाबु श्रेष्ठ आशिषचन्द्र खनाल र कमलप्रसाद रेग्मीलाई पनि विशेष अदालतले सफाइ दिएको छ ।

कालिका कन्ट्रक्सन जेभीका आधिकारिक प्रतिनिधि युवराज क्षेत्री र कालिकासँग जोइन्ट भेन्चरमा काम गरिरहेको इआरएमसी–आईटीको नेपाल जेभीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाइँ, आधिकारिक प्रतिनिधि हेमनिधि शर्मा र सोही जेभीका टिम लिडर अरुणकुमार चौधरीले पनि सफाइ पाएका छन् ।

राप्रपाका उपाध्यक्ष रहेका पाण्डे चितवन–३ बाट दोस्रो संविधानसभामा प्रत्यक्ष निर्वाचित भएका थिए ।

संसदीय निर्वाचन, २०७४ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पाण्डे पराजित भएका थिए ।

विशेष अदालतले सफाइ दिएपछि पाण्डेलाई आउने निर्वाचनमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको छ ।

Published : Sunday, 2022 June 19, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया