रामहरि खतिवडाद्वारा उदण्ड आलेको हर्कतको विरोध, कर्मचारीको सम्मान गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको उदण्ड हर्कतको विरोध गरेका छन् ।

खतिवडाले शनिबार ट्वीट गर्दै मन्त्री आले आफ्नो मित्र भए पनि आफ्नो मन्त्रालयको कर्मचारीमाथि गरेको दुर्व्यवहार उचित नरहेको बताए ।

‘माननीय मन्त्री प्रेम आलेजी मेरो साथी पनि हो’, खतिवडाले भने, ‘बिगतमा प्रेमजी साथीहरूको लागि अति सहयोगी पनि हो जस्तो लग्दथ्यो ।’

‘तर मन्त्री बनेपछि के भुत जीउमा चढेछ ?’, उनले भने, ‘आफ्नो अफिसमा एक कर्मचारीलाई बोलाएर अश्लील गाली गरेर हातपात पनि गर्ने काम भएको अडियोमा सुन्दा दुखित छु ।’

मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निकै तल्लोस्तरको सुन्नै नसकिने शब्दबाट गालीगलौज गरेर कुटपिट गरेका थिए ।

कर्मचारीहरूसँग मतभेद वा भनेको काम गरेको छैन भने अनेक कानूनी उपचार खोज्ने बाटो रहेको भन्दै खतिवडाले कर्मचारीहरूको सम्मान गर्नुपर्ने बताए । राजनीतिक नेतृत्वलाई कर्मचारीले साथ दिएकै कारण मुलुकमा विकास गर्न सकिएको खतिवडाको भनाइ छ ।

मन्त्री आलेको सो हर्कतको चौतर्फी विरोध भइरहेको छ । आलेलाई बर्खास्त गरेर कारबाहीको माग चलिरहेका बेला कांग्रेस नेता खतिवडाले पनि आलेप्रवृत्तिको विरोध गरेका छन् ।

Published : Saturday, 2022 June 18, 4:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया