कांग्रेस नेता चापागाइँलाई काठमाडौं– १ मा उम्मेदवार बन्न सुझाव

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उत्तम चापागाइँलाई काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न सुझाव आएको छ ।

नेपाल तरुण दलका पूर्वउपाध्यक्ष समेत रहेका युवा नेता चापागाइँलाई काठमाडौं १ बाट उम्मेदवार बन्न कांग्रेसका नेता, कार्यकर्ता र युवाहरूले सुझाव दिएका हुन् ।

भोजपुर जिल्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका चापागाइँलाई पार्टीका नेता कार्यकर्ताले काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचनमा प्रतिस्पर्धाको तयारी गर्न सुझाव आएपछि परामर्शमा लागेको एक नेताले बताएका छन् ।

नेता चापागाइँ काठमाडौं महानगरपालिका वडा नं. १० निवासी हुन् । पछिल्लो समय उनले आफ्ना राजनीतिक गतिविधिलाई काठमाडौं क्षेत्र नं. १ मा केन्द्रित बनाउँदै लगेका छन् ।

नेता चापागाइँले आफू कहाँबाट निर्वाचनमा उम्मेदवार बन्ने विषयमा केही निर्णय नगरेको बताएका छन् । ‘पार्टीले जेभन्छ त्यही गर्ने हो’, उनले भने, ‘भोजपुर वा काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार बन्नुपर्छ भनेर साथीहरूको सल्लाह आएको हो । पार्टीभित्र सल्लाह नगरेर मैले त्यो विषयमा अहिले नै केही भन्न मिल्दैन ।’

आगामी निर्वाचनमा आफू उम्मेदवार बन्ने उनले बताए । त्यसका लागि तयारीहरू गरिरहेको समेत उल्लेख गरेका छन् ।

Published : Friday, 2022 June 17, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया