टेकबहादुर गुरुङको पहलमा सहमति भएपछि मनाङमा कांग्रेसलाई फाइदा

चामे । जिल्ला समन्वय समिति मनाङको प्रमुखमा एमालेका चिनबहादुर घले र उप–प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया विक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

महिला सदस्यमा एमालेकी लक्ष्मी गुरुङ, एमालेकी सुस्मिता सिञ्चौरी र कांग्रेसकी राधा बराल विश्वकर्मा निर्वाचित भएकी छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, प्रतिनिधि सभाका सांसद पोल्देन छोपाङ गुरुङ, जिससका पूर्व प्रमुख यज्ञप्रसाद घले, पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिको रोहबरमा गोलाप्रथाबाट प्रमुख र उप–प्रमुख छानिएको थियो ।

गोलाप्रथाबाट प्रमुख पर्नेले ३ सदस्य तथा उप–प्रमुख पर्नेले ४ सदस्य पाउने सहमति भएको थियो ।

सोहीअनुसार एमालेले प्रमुख र ३ सदस्य र गठबन्धन दलले उपाध्यक्ष र ४ सदस्य पाएको कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए ।

दलका बीच भएको सहमतिअनुसार बिहीबार मनोनयन दर्ता गरिएको थियो । सबै पदमा एकल उम्मेदवारी परेको थियो ।

बुधबार गोलाप्रथाबाट प्रमुख र उप–प्रमुखको नाम छानिएको मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङले जानकारी दिएका छन् ।

Published : Friday, 2022 June 17, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया