ओली प्रधानमन्त्री रहेका बेला एसपीपीका लागि पहल गरेको खुलासा, धमलाले रायमाझीको सातो लिए

काठमाडौं । नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसपीपी)को विषयमा एमालेका नेता टोपबहादुर रायमाझीले ‘फाल्टु कुरा’ भनेपछि पत्रकार ऋषि धमलाले सातो लिएका छन् ।

शुक्रबार बिहान नेपाली रेडियो नेटवर्कको अन्तर्वार्ताका क्रममा रायमाझीले एनजीएसएसपीका विषयमा झुठ बोलेपछि धमलाले र्‍याखर्‍याख बनाएका थिए । त्यस क्रममा एमालेका नेता रायमाझीले फाल्टु कुरा भनेपछि धमलाले शब्द फिर्ता लिनुस् भनेर झपारेका छन् ।

एमालेका नेता रायमाझीले एसपीपीका विषयमा छानविन र अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्री रहेका बेला एसपीपीका लागि अमेरिकासँग पहल गरेको समाचारप्रति रायमाझीले असहमति जनाए ।

यसैबीच, ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग एसपीपी सम्झौताका लागि पत्राचार गरेको देखिएको छ ।

तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित तत्कालीन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गर्दै नेपाल सरकारको तर्फबाट एसपीपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको तीन बुँदे पत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।

दोस्रो बुँदामा यस कार्यक्रममा सहभागी हुँदा यसले दीर्घकालीन तथा दुई पक्षलाई नै फाइदा पुग्ने गरी सुरक्षा सम्बन्ध मजबुत हुनुका साथै सैन्य कुशलता तथा अनुभव आदानप्रदानमा सहयोग पुग्ने तथा सुरक्षा ज्ञान आदानप्रदान गर्न मद्दत पुग्नुका साथै सुरक्षा समन्वयमा थप क्षमता वृद्धि हुनेछ ।

यस कार्यक्रमले दुवै पक्षको चाहना रहेको प्रकोप प्रतिकार्य तयारी तथा व्यवस्थापन, वायुसेवा पूर्वाधार व्यवस्थापन र सुरक्षा आदानप्रदान र संवेदनशील पूर्वाधार विकासका साथै नेपाली सेनाका अधिकारीहरूको व्यावसायिकरण र विकासमा सहयोग पुग्नेछ ।

तेस्रो बुँदामा नेपाली सेना यस कार्यक्रमका लागि तत्पर रहेको हुँदा नेपालस्थित अमेरिकी दूतावासलाई उच्च प्राथमिकता दिन आग्रह गरिएको छ ।

पत्र सम्बन्धमा नेपाली सेनाले अध्ययन गरिरहेको बताएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले सार्वजनिक भएको पत्रबारे अध्ययन भइरहेको र सबै बुझेपछि प्रतिक्रिया दिने बताएका छन् ।

Published : Friday, 2022 June 17, 6:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया