गृहमन्त्री खाणले साथ दिएपछि निहारिकाले अनसन तोडिन्

काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ निवासी सोनालीकुमारी सिंह निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएको छ ।

राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसङ्ग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकी छिन् ।

प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सह–सचिव शिवराम पोखरेल, उप–सचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् ।

Published : Friday, 2022 June 17, 6:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया