कांग्रेससहितका दलहरूको कामले कालोनिलो बने गोकुल बास्कोटा

बनेपा । काभ्रेपलाञ्चोकको जिल्ला समन्वय समिति (जिसस)मा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनको प्यानल विजयी भएको छ ।

बुधबार भएको निर्वाचनमा जिससको प्रमुखमा एकीकृत समाजवादीका दीपक गौतम २२ मतसहित विजयी भएका छन् । गौतमसँग पराजित भएका एमालेका कमला भट्टराईले जम्मा ४ मत पाएकी थिइन् ।

जिससको उप–प्रमुखमा कांग्रेसका रिमबहादुर तामाङ २२ मतसहित विजयी भएका छन् । तामाङसँग एमालेका राजेन्द्र केसी पराजित भएका छन् ।

सदस्यहरूमा चण्डिका मिजार, निरबहादुर लामा, मंगलबहादुर लामा, अप्सरा सिपखान, कमलराज गिरी, रस्मिता भण्डारी र कृष्णकुमारी राई निर्वाचित भएका छन् ।

प्रमुख–उपप्रमुखसहित ७ जना सदस्यहरू गठबन्धनबाट निर्वाचित भएका छन् । एमालेले एउटा सदस्य पनि जित्न सकेन ।

गठबन्धनमा एकीकृत समाजवादीलाई प्रमुख, कांग्रेसलाई उप–प्रमुख र ४ सदस्य र माओवादी केन्द्रले ३ सदस्य लिएका थिए ।

उनीहरू सबै निर्वाचित भएका हुन् । काभ्रेपलाञ्चोकमा जम्मा २६ मतदाता रहेका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला एमालेका नेता गोकुल बास्कोटाको गृहजिल्ला पर्छ । बास्कोटाले जिससमा सबै पद गुमाएका छन् ।

बास्कोटा तत्कालीन समयमा सञ्चार, सूचना तथा प्रविधि मन्त्री रहेका बेला ७० करोड कमिशन प्रकरणको अडियो बाहिरिएपछि मन्त्री पद गुमाउनु परेको थियो ।

Published : Wednesday, 2022 June 15, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया