बाग्लुङमा एमालेले तोरीको फूल देख्यो

बाग्लुङ । बाग्लुङको जिल्ला समन्वय समिति (जिसस)मा गठबन्धनका उम्मेदवारहरू सर्वसम्मत निर्वाचित भएका छन् ।

जिससको प्रमुखमा राष्ट्रिय जनमोर्चाका अमर थापा र उप–प्रमुखमा नेपाली कांग्रेसका होमनाथ शर्मा सर्वसम्मत भएका हुन् ।

निर्वाचनको कार्यतालिकाअनुसार बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिए पनि पाँच दलीय गठबन्धनबाहेक अन्य कुनै पनि दलका उम्मेदवारहरूको उम्मेदवारी दर्ता भएको छैन ।

बाग्लुङमा एउटा मात्रै प्रमुख जितेको एमालेले कुनै पनि पदमा उम्मेदवारी दिएन । बाग्लुङमा सधैँ बहुमतमा बस्दै आएको एमालेलाई ठूलो झट्का लागेको छ । एमालेले जिससमा उम्मेदवारी दिनै नसक्ने अवस्थामा पुगेको छ ।

समन्वय समितिको सदस्यहरूमा महिला सदस्यमा कांग्रेसको तर्फबाट हरिकला पौडेल, एकीकृत समाजवादीकी जसोधा शर्मा र राष्ट्रिय जनमोर्चाबाट धनकुमारी खत्री सर्वसम्मत चयन भएका छन् ।

अल्पसंख्यक दलित सदस्यतर्फ कांग्रेसबाट उम्मेदवार बनेकी कौशीला विक सर्वसम्मत हुँदा खुला सदस्यतर्फ माओवादी केन्द्रका तर्फबाट हर्कबहादुर पाण्डे, कांग्रेसबाट टेकबहादुर अर्गेजा र पदमबहादुर क्षेत्री सर्वसम्मत भएका छन् ।

काठेखोला गाउँपालिका–४ तंग्रामका अमरबहादुर थापा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष हुन् ।

उनी काठेखोला गाउँपालिका–४ बाट वडा सदस्यमा निर्वाचित भएका थिए । राजमोको चौथो कार्यकाल अध्यक्ष भएका थापा यसपटक जिसस प्रमुख भएका छन् ।

Published : Wednesday, 2022 June 15, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया