एसपीपीका विषयमा नेपाली सेनाले दियो प्रतिक्रिया

काठमाडौं । नेपाली सेनाले नेपालको विशिष्ट भूराजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी हुन नसक्ने जनाएको छ ।

सेनाले बुधबार विज्ञप्ति जारी गरेर अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको जनाएको हो । सेनाले त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको उल्लेख गरेको छ ।

‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवम् सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा संचार जगतलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सेनाले विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरूमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरूमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सार्वभौम सत्ता र नेपाललाई असर पर्ने खालका कुनै पनि सम्झौता नहुने जनाइसकेका छन् ।

सेनाका तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीको हिस्सा बन्न अमेरिकासँग पहल गरेका थिए । नेपाल सन् २०१९ यता अमेरिकाको एसपीपीको हिस्सा रहेको खुलेको छ ।

सन् २०१५ र २०१७ मा गरी दुई पटक नेपालबाट स्टेट पार्टनरसिप प्रोग्राममा सहभागिताका लागि आवेदन परेपछि सन् २०१९ मा अमेरिकाले नेपालको आवेदन स्वीकार गरेको थियो । दुवै आवेदन तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले गरेका थिए ।

यसरी दिइएको आवेदनमा रक्षा मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयलाई समेत बोधार्थ दिइएको थियो ।

पछिल्लो पटक अमेरिकाले नेपाललाई प्रस्ताव गरेको भनिएको कागजपत्रसमेत झूटो भएको जनाइएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले उक्त कागज झूटो रहेको दाबी गर्दै मंगलबार ट्वीट गरेको छ ।

नेपाल स्टेट पार्टनरसिपमा छानिएको जानकारी सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले पाएका थिए ।

Published : Wednesday, 2022 June 15, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया