‘सेतो बाघ’ काण्डमा कान्तिपुर र नयाँ पत्रिका दैनिक फसे, दादागिरि देखाएपछि ७ दिने पुर्जी भेटे

काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर र नयाँ पत्रिका दैनिकलाई ‘सेतो बाघ’ प्रकरणमा स्पष्टकरण सोधेको छ ।

काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिक तथा सम्बन्धित कम्पनीलाई शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेका हुन् ।

काउन्सिलले उनीहरूलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ ।

कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकले शुक्रबारको अंकको प्रथम पृष्ठमा ‘नेपालमा देखियो सेतो बाघ’ शीर्षकमा एउटा सामग्री सम्प्रेषण गरेको थियो ।

‘शुक्रबारको अंकको प्रथम पृष्ठमा ‘नेपालमा देखियो सेतो बाघ’ शीर्षकमा प्रकाशित सामग्रीले पाठकहरूमा भ्रम वा संशय उत्पन्न हने गरी विज्ञापन जनाई विज्ञापनलाई समाचारको शैलीमा सम्प्रेषण गरेको र पाठकलाई दीग्भ्रमीत पर्ने गरी सामग्रीको शीर्षक राखिएकोले काउन्सिलको ध्यानाकर्षण भएको छ’, स्पष्टीकरण पत्रमा भनिएको छ ।

पत्रमा भनिएको छ, ‘तसर्थ सामग्रीमा उल्लेख भए बमोजिम सेतो बाघ कहाँ देखिएको हो ?, यस प्रकारले पाठकर्लाइ दीग्भ्रमीत पार्ने गरी विज्ञापनलाई समाचारको रुपमा सम्प्रेषण गरी मदिराजस्तो कानून्ले विज्ञापन गर्न निषेध गरिएको विषय के कसरी सम्प्रेषण हुन गएको हो ? त्यस प्रकारको सामग्री सम्प्रेषण भएबाट पत्रकार आचारसंहिता बमोजिम कारबाही किन नगर्ने पत्र प्राप्त भएको ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्णयानुसार जानकारी गराइन्छ ।’

नेचुरल स्पिरिट्स नेपालले रक्सीको विज्ञापन गर्न ‘नेपालमा देखियो सेतो बाघ’ शीर्षकमा शक्रबार कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकमा विज्ञापनका नाममा लाखौं रुपियाँ खर्च गरेर समाचार जस्तो देखिने गरेर विज्ञापन छपाएपछि काउन्सिलले एक्सन लिएको छ ।

कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकले आफूलाई नम्बर १ दैनिक पत्रिका दाबी गर्छन् । उनीहरूका यस्ता हर्कतमाथि काउन्सिलले निगरानी गरेर कारबाहीको दायरामा ल्याएको छ । कान्तिपुर र नयाँ पत्रिकाको जबरजस्त दादागिरिलाई काउन्सिलले रोक्ने प्रयास गरेको छ ।

Published : Saturday, 2022 May 28, 9:33 am

फेसबुकबाट तपाईको प्रतिक्रिया