भारतले लोमान्थाङमा विद्यालयको भवन स्तरोन्नत गरिदियो, बस र एम्बुलेन्स पनि दियो

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्री पाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन भएको छ ।

नेपालका लागि भारतीय कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले विद्यालयको स्तरोन्नत भवनको शुक्रबार उद्घाटन गरेकी हुन् ।

खम्पाले विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु २ करोड ६३ लाखको लागतमा यस स्तरोन्नत संरचनाको निर्माण भएको हो ।

जिल्ला समन्वय समिति मुस्ताङले यस परियोजनाको कार्यान्वयन गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।

भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय विकास साझेदारी रहेको छ जसले दुई देशका जनताबीचको निकटतालाई प्रतिबिम्बित गरेको भारतीय दूतावासले उल्लेख गरेको छ ।

‘यस परियोजनाको कार्यान्वयनले नेपालमा सामाजिक एवम् सांस्कृतिक पूर्वाधारको विकास र जनता जनताबीचको सम्बन्ध सुदृढ बनाउन भारत सरकारले पु¥याउँदै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Saturday, 2022 May 28, 8:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया