यौन हिंसामा परेकी यी महिलालाई आईजीपी सिंहले अन्याय हुन नदिने, अनुसन्धान शुरू

काठमाडौं । नेपाल प्रहरीले एक महिलामाथि भएको यौनजन्य हिंसासम्बन्धी विषयमा अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरी मुख्यालयका प्रवक्ता एवम् एसएसपी विष्णुकुमार केसीले शुक्रबार विज्ञप्ति जारी गरेर महिलामाथि भएको यौनजन्य हिंसासम्बन्धी विषयमा अनुसन्धान शुरु गरिएको जनाएका छन् ।

‘विगत केही दिनदेखि सामाजिक सञ्जाललगायत विभिन्न पत्रपत्रिका तथा अनलाईनहरूमा एक महिलामाथि भएको यौनजन्य हिंसासम्बन्धी भियियो सामग्री सार्वजनिक भएको विषय सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल प्रहरीमा यस विषयमा अत्यन्त गम्भीर तथा संवेदनशील छ’, प्रहरीले भनेको छ, ‘अहिले नेपाल प्रहरीबाट पीडित र अभिभावकको सम्पर्कमा रही आवश्यक परामर्श गर्नुका साथै पीडित महिला र घटनासम्बन्धमा आवश्यक जानकारी लिने र थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।’

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘घटनाबारे आवश्यक अनुसन्धान तथा छानविन गरी सत्यतथ्य पत्ता लगाई घटनामा संलग्नलाई कानून बमोजिम कारबाही गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरको अध्यक्षतामा पाँच सदस्यीय छानविन समिति गठन गरिएको जानकारी गराउँदछौँ ।’

सुन्दरी प्रतियोगितामा एक युवतीलाई यौनजन्य हिंसा गरेको आरोप लागेको कुरा बाहिर आएपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह आफैले सो घटनामा अनुसन्धानका लागि निर्देशन दिएका छन् ।

Published : Friday, 2022 May 20, 9:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया