हार्ने डरले मतदाता धम्काउन थाले गढवा १ का एमालेका वडाध्यक्ष अधिकारीले, बबालीलाई प्रहरीले छाड्यो

लमही । दाङको गढवा गाउँपालिकाको वडा नं. १ मा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका बाबुराम अधिकारीले मतदाताहरुलाई धम्काएको रहस्य बाहिर आएको छ ।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार माधव सापकोटासँग कडा टक्करमा रहेका एमालेका वडाध्यक्षका उम्मेदवार अधिकारी पराजित हुने डरले मतदाताहरुलाई धम्काउन थालेका हुन् । उनले मतदाताहरुलाई धम्काएको प्रमाण रिपब्लिका दैनिकले फेला पारेको छ ।

अधिकारी वडा नं. १ मा वडाध्यक्षमा निर्वाचित भएका थिए । पुनः वडाध्यक्षमा एमालेबाट उम्मेदवार बनेका अधिकारीले आफू वडाध्यक्षमा जित्नका लागि सबै हत्कण्डा अपनाएका हुन् ।

हुन त अधिकारीले आफूलाई लागेको आरोप अस्वीकार गरेका छन् । रिपब्लिका दैनिकसँग कुरा गर्दै उनले आफूले कसैलाई पनि धम्की नदिएको र अनावश्यक दवावहरु नदिएको दाबी गरेका छन् ।

वडाध्यक्ष भएका बेला अधिकारीलाई भव्य घर बनाएको भनेर आरोप पनि लाग्ने गरेको छ । वडाध्यक्ष हुनुभन्दा सामान्य घरमा बस्दै आएका एमालेका नेता अधिकारीले कालाकाटेमा भव्य भवन बनाएका छन् । उनको सम्पत्तिलाई लिएर एमालेकै कार्यकर्ता पनि चकित छन् ।

अधिकारीका प्रचार प्रसारमा उत्रिएका समर्थकले कालाकाटे, धानखोलासहितका विभिन्न स्थानमा उत्पात मच्चाएपछि कांग्रेसका कार्यकर्ताले अबरोध गरेका छन् ।

सोमबार राति एमालेका वडाध्यक्षका उम्मेदवार अधिकारीका समर्थकले लफडा गरेपछि कांग्रेसका कार्यकर्ताले पक्राउ गरेर प्रहरीलाई बुझाएका थिए । तर, राजनीतिक दवाव दिएर एमालेका कार्यकर्ताहरुलाई छुटाइएको छ ।

प्रहरीका नायब निरीक्षक (सई) कालुराम धानुकले एमाले र कांग्रेसका कार्यकर्ताबीच सामान्य विवाद भएको बताए । उनले मंगलबार दुबै पक्षलाई बोलाएर सहमति गराएर पठाएको जनाएका छन् । सई धानुकले एमालेलाई साथ दिएको भन्दै कांग्रेसका कार्यकर्ताले आक्रोश पोखेका छन् ।

बबाल गर्ने एमालेका कार्यकर्ताहरुविरुद्ध उजुरी दिन पुगेका कांग्रेसका कार्यकर्ताको कुरै नसुनेपछि सई धानुकको आलोचना भएको छ । धानुकले एमालेका वडाध्यक्ष अधिकारीलाई जिताउन उनको पक्ष लिएको आरोप छ ।

वडाध्यक्ष बनेपछि बनाएको भवन
Published : Tuesday, 2022 May 10, 3:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया